सिक्किममा सीबीआई ल्याउने सही समय हो, यसमा सरकार चुक्नुहुँदैन: भाजपा सिक्किम

सिक्किम राज्यमा लामो समयदेखि सीबीआई ल्याउने अनि राज्यमा भएका भ्रष्टाचारहरूको जाँच गराउने विषय चर्चामा रहेको छ। यस मुद्दामा विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो तरिकाले माग उठाउँदै आएका छन् भने यो सिक्किमेली आम जनताको एउटा प्रमुख चाहना अनि आकांक्षा पनि हो। वर्तमान सत्तारूढ़ पार्टी, सिक्किम क्रान्तिकारी मोर्चाले पनि आफ्नो शुरूका दिनदेखि सरकार आएलगत्तै सीबीआईलाई सिक्किममा भित्र्याएर राज्यमा भएका वित्तीय अनियमितता र भ्रष्टाचारहरूको सघन जाँच गराउने वकालत गर्दै आएको थियो भने जनताले पनि यसै मुद्दाको आधारमा एसकेएम पार्टीलाई बहुमत दिलाएर सत्तामा पुऱ्याएका छन्। तर एसकेएम पार्टीको सरकार आएपछि पनि विगत तीन वर्षको अवधि यस विषयमा कुनै पहल नहुनु विडम्बनाको विषय हो। सीबीआई सिक्किम आउने विषयमा पूर्व सरकारले जहाँ बाटो बन्द गरिदिएको थियो, त्यो आज नयाँ सरकार आएको तीन वर्षसम्म पनि यथावत छ अनि यसप्रति कुनै पहल नहुनु सिक्किमे जनाकांक्षा साथै आफ्नो वचनवद्धताको ठाड़ो बेवास्ता हो।
केही दिन अघिदेखि सिक्किम राज्य राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ। यो कुनै राम्रो कामको कारण नभएर ठूलो वित्तीय अनियमितता अनि धाँधलीको कारण भएको छ। विगत 20 महिनादेखि मल्टी कमोडिटी एक्सचेञ्ज (एमसीएक्स) मा सिक्किम राज्यबाट भएको अप्रत्यासित लगानीले अहिले सारा देशलाई नै चकित बनाइरहेको छ भने यसबाट अरबौंको घोटाला भएको सहजै अनुमान लगाउन सकिन्छ। यस मामिलामा दिनदिनै नयाँ-नयाँ रहस्यहरूबाट विस्तारै पर्दा उठ्दै गइरहेको छ भने यसमा राज्यमा सञ्चालित ठूलठूला वित्तीय संस्थानहरू पनि शंकाको घेरोमा पर्न गइरहेका छन्। यस अतिरिक्त सिक्किममा आयकर छुट रहेकोले यसको फाइदा उठाउँदै यहाँबाट एमसीएक्समा लगानीको निम्ति ठूलो हवाला ऱ्याकेट चलिरहेको पनि हाम्रो संज्ञानमा आएको छ। यस विषयमा मुख्यमन्त्री स्वयंले पनि ठूलो अनियमितता भएको आशंका व्यक्त गर्दै राज्यको सतर्कता विभागलाई छानबीनको निम्ति निर्देश दिइसकेका छन्। तर, राष्ट्रिय स्तरको एउटा व्यापारिक संस्थानमार्फत भएको यति ठूलो अनियमितताको छानबीन गर्न भिजिलेन्स विभागको क्षमता पर्याप्त छैन।
यसर्थ, भाजपा सिक्किम राज्य सरकारलाई अविलम्ब राज्यमा सीबीआईलाई आउने मार्ग प्रशस्त बनाएर यस अप्रत्यासित वित्तीय अनियमितताको गहन छानबीन गराउन सुझाउ दिँदछ। राज्य सरकारले विगत तीन वर्षमा विभिन्न बहाना बनाउँदै सीबीआई ल्याउने विषयलाई तन्काउँदै आएको भए तापनि यो नै सिक्किममा सीबीआई ल्याउने सही समय हो र यसमा सरकार चुक्नुहुँदैन। यसर्थ, भाजपा सिक्किम राज्य सरकारलाई आफूले चुनाउअघि पटक पटक जनतासँग गरेको वाचालाई पूरा गरेर सिक्किमे जनतालाई न्याय दिलाउनका साथै भविष्य सुरक्षित गर्नेतर्फ अविलम्ब पहल गरियोस् भनी माग गर्दछ।
डा. राजु गिरी
प्रवक्ता, भाजपा सिक्किम