एस सी नेपालीसमाचार

भारतमा यूके कोरोनाभाइरस स्ट्रेनको मामला बढ़यो

गान्तोक, 06 जनवरी: नयाँ सालको आगमनसँगै विभिन्न देशहरूबाट कोभिड-19 भ्याक्सिन सम्बन्धी सकारात्मक समाचारहरू आउन थालेका छन्। महामारीले एकचोटि लगभग ठप्प भएको विश्वले फेरि आशाको किरण देख्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-19को रोकथामको निम्ति 50 भन्दा बढ़ी भ्याक्सिनहरू अहिले परिक्षणमा रहेका छन्। भारतमा ओक्सफोर्ड-एस्ट्राजेनेन्काको ‘कोभिसिल्ड (Covishield)’ अनि भारत वायोटेकको ‘कोभ्याक्सिन (Covaxin)’ नामक कोभिड-19 भ्याक्सिनहरूले आकस्मिक अनुमोदन प्राप्त गरेका छन्।

भारतका विभिन्न राज्यहरूमा सक्रिय संक्रमितहरूको संख्या कम भएर गएको भनिएको छ। मृत्यु दर पनि दैनिक कम हुँदै गएको देखिएको छ। केरलमा भने गएको हप्ता संक्रमितहरूको संख्यामा बृदधि भएको छ। यसलाई मध्यनजर गर्दै केन्द्र सरकारको एउटा उच्च टोली सहयोगको निम्ति केरलमा पठाइएको जानकारी गराइएको छ।

यसैबीच यूनाइटेड किङ्डम (यूके)मा नयाँ कोरोनाभाइरस देखिएपछि त्यहाँ पुन: लकडाउनको तयारी गरिएको छ। जानकारी अनुसार म्युटेसनपश्चात कोरोनाभाइरसको नयाँ रुप (स्ट्रेन) देखिएको अनि यो छिटो फैलने गरेको बताइएको छ। भारतमा 6 जनवरीको दिन यूके स्ट्रेनको 73 वटा मामलाको पुष्टि भएको जनाइएको छ। संक्रमितहरूसँगका सहयात्रीहरू तथा परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ बड़ो तत्परताका साथ भइरहेको बताइएको छ।

यूकेको नयाँ कोभिड स्ट्रेनको संक्रमणलाई मध्यनजर गरी भारत सरकारको स्वास्थ्य मन्त्रालयले पहिले 22 दिसम्बर 2020 अनि पछि 1 जनवरी 2021मा एसओपी जारी गरेको छ। पहिलो एसओपीमा यूकेबाट आउने सम्पूर्ण यात्रीहरूको आरटीपीसीआर जाँच गरी पोजिटिभ पाइएको खण्डमा नयाँ स्ट्रेनको निम्ति पुन: जाँच गरिनपर्ने स्वास्थ्य मन्त्रालयद्वारा जारी एसओपीमा उल्लेख गरिएको थियो। नयाँ स्ट्रेनको पुष्टि भए लगत्तै अलग्गै क्वारेन्टाइन फेसिलिटीमा यी संक्रमितहरू तथा उनीहरूका कन्ट्याक्टहरूलाई राख्न भनिएको थियो।

1 जनवरीमा जारी एसओपी अनुसार 25 नोभेम्बरदेखि 23 दिसम्बर 2020सम्म यूके यात्रा गरेका अथवा यूके भएर अन्य देशहरूमा यात्रा गरेका सबै यात्रीहरूले अब 30 जनवरीसम्म भारत आउँदा स्वघोषित फार्म जमा गर्नुपर्नेछ। यात्रा गर्न अघि 72 घण्टाको अवधिमा गरिएको आरटीपीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउनपर्नेछ। यसका साथै सो रिपोर्ट अनलाइन पोर्टलमा पनि जमा गरेको हुन पर्नेछ।   

अहिलेसम्म स्पेन, सिंगापूर, स्विजरल्यान्ड, क्यानाडा, जर्मनी, जापान, ईटाली, लेबानन, फ्रान्स, अस्ट्रेलिया, नेदरल्यान्डस, डेनमार्क लगायत 23 देशहरूले नयाँ स्ट्रेनको मामला आफ्नो देशमा पनि पाइएको जानकारी गराएका छन्।

नयाँ स्ट्रेन छिटो फैलनका साथै यसले कम उमेरकालाई प्राय: संक्रमित तुल्याउने गरेको अहिलेसम्मको जानकारी अनुसार थाहा लागेको छ। विभिन्न विज्ञहरूले छिटो फैलने भाइरस कम प्राणघातक रहनसक्ने पनि बताएका छन्। नयाँ म्युट्यान्ट भाइरसबारे अझ थप जानकारी आउन बाँकीनै छ। कमै घातक भए पनि बृहत मात्रामा फैलिएर गए नोक्सानी ठूलो हुन सक्ने आशंकाले सबै देशहरूले पुन: कड़ाइ गर्न थालेको देखिएको छ। यसका साथै अहिलेसम्मको जानकारी अनुसार विकसित भ्याक्सिनहरू नयाँ यूके स्ट्रेनमा पनि कारगार रहने भनिएको छ।

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button