एक राष्ट्र एक रासन कार्ड योजनाकोलाई सीधै 371F जोड़ेर मानिसहरुमा भ्रम फैलाउने कार्य गरिरहेको छ : भाजपा

देशका सबैभन्दा गरीबवर्ग विशेष गरेर प्रवासी मजदुरहरूको हित अनि कल्याणलाई ध्यानमा राखेर गत वर्ष केन्द्रको मोदी सरकारले ल्याएको एक राष्ट्र, एक रासन कार्ड योजनालाई हिजो राज्य सरकारले सिक्किममा पनि लागू गरेको छ। भाजपा सिक्किम राज्य सरकारको यस पहललाई स्वागत जनाउँदछ।
अर्कोतिर, हिजो राज्यमा यो योजना लागू भएयता सामाजिक संजालमा अचानक स्वघोषित कानूनविद्हरूको ओइरो नै लागेको छ जसले यस गरीबमुखी योजनालाई सीधै 371 एफसँग जोड़ेर मानिसहरूमा भ्रम फैलाउने कार्य गरिरहेका छन्। जनताले विश्राम दिएका कतिपय राजनीतिज्ञ तथा राजनीतिक दलहरू अहिले यस एक राष्ट्र, एक रासन कार्ड योजनालाई 371 एफसँग जोड़ेर आफ्नो राजनीतिक दुनो सोझ्याउने जुन दुष्प्रयास गरिरहेछन्, त्यसको भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ। यो संशोधित कानून केवल ती गरीब मजदूरवर्ग जो केन्द्र सरकारले सब्सिडीमा अर्थात् हाल निःशुल्क प्रदान गरिरहेको रासनमा निर्भर रहन्छन्, उनीहरूलाई उनीहरूको हक देशको कुनै पनि राज्यमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले लागू गरिएको हो। भाजपा सिक्किम सम्पूर्ण सिक्किमवासीलाई यो भरोसा दिलाउन चाहन्छ कि संविधानको धारा 371 एफ सँग यस योजनाको कुनै सम्बन्धै छैन अनि यसले कुनै स्थानीय सुरक्षाको कानूनलाई असर गर्नेछैन।
अब उसो सिक्किम राज्यमा कार्यरत प्रवासी कामदारहरूले पनि आफ्नो नजिकैको अधिकृत रासन दोकानहरूबाट केन्द्र सरकारद्वारा सब्सिडी अथवा निःशुल्क रूपमा प्रदान गरिने आफ्नो भागको रासन प्राप्त गर्न सक्नेछन्। यो संशोधित कानून केवल रासन वितरण प्रणालीसँग जोड़िएको कानून हो, जो प्रवासी मजदूरहरूको कल्याणलाई मध्यनजरमा राखेर कार्यान्वयन गरिएको हो। यो कानून लागू हुँदा केवल प्रवासी मजदुर तथा कामदारहरूले आफ्नो हकको रासन देशको कुनै पनि कुनामा प्राप्त गर्न सक्छन्, यसले स्थानीयहरूको अधिकारमा कुनै असर गर्नेछैन। यतिमात्र होइन, सिक्किमबाट देशका विभिन्न राज्यमा कार्यरत कामदारहरूले अब नजिकैको रासन दोकानमा आफ्नो रासन कार्ड पंजीकृत गराएर आफ्नो हकको रासन अनुदानित मूल्यमा प्राप्त गर्न सक्नेछन्, जो आर्थिक रूपमा कम्जोर वर्गको निम्ति ठूलो राहतको विषय हुन्छ। यस अतिरिक्त यस योजनाले कुनै पनि व्यक्तिको दोहोरो रासन कार्ड अनि यसबाट भइरहेको करोड़ौंको भ्रष्टाचार साथै कालोबजारीलाई पनि निर्मूल पार्नमा मद्दत पुग्नेछ।
यस्तो गरीबमुखी योजनाको दुष्प्रचार गर्नेहरू गरीबविरोधी अनि मजदुरविरोधी हुन्। यसर्थ, गरीबवर्गको खाद्य सुरक्षासित जोड़िएको यस योजनालाई लिएर दुषप्रचार नगरिदिन प्रदेश भाजपा ती स्वघोषित कानूनविद्हरूलाई आग्रह गर्दछ।
डीबी चौहान
अध्यक्ष
भाजपा सिक्किम