सवारी साधनमाथिको प्रतिबन्ध हट्यो: भाड़ादर घट्यो

सवारी साधनमाथिको प्रतिबन्ध हट्यो: भाड़ादर घट्यो
Photo Credit: sikkimforest.gov.in

गान्तोक, 20 नोभेम्बर: सिक्किम सरकारको परिवहन विभागले एउटा आदेश जारी गर्दै सबै प्रकारको सार्वजनिक सवारी साधनमाथि वर्तमानमा लागु रहेको यात्रु क्षमता प्रतिबन्धलाई हटाएको छ। यससँगै अब सबै सार्वजनिक सवारी साधनले पूर्ण यात्रु क्षमता (Full Capacity) यात्री बोक्न पाउनेछन्। आज जारी सो आदेश तत्काल प्रभावसँग लागु गरिएको छ। कोभिड-19 महामारीलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक सवारी साधन म्याक्सी क्याबमा पहिले 5 जना मात्र अनि पछि 7जना मात्र यात्री बोक्न पाइने नियम लागु गरेको थियो। यसैगरी लोकल ट्याक्सीहरुमा 3 जना मात्र बोक्न पाइने नियम रहेको थियो। यसो हुँदा जनसाधारणमा अतिरिक्त भाड़ाको बोझ पर्न गएको थियो। गैर सरकारी संस्था एसपीवाइएफले यसको विरुद्ध पटक-पटक आवाज उठाएको पनि देखिएको थियो।

यात्रु क्षमतामाथिको प्रतिबन्ध हट्न साथै परिवहन विभागले अब पुरानै भाड़ादर लागु हुने आफ्नो आदेशमा बताएको छ। अब उसो 17 नोभेम्बर 2018मा विभागद्वारा तोकिएको भाड़ादरनै सबै सार्वजनिक सवारी साधनहरुमा लागु हुनेछ। यसको अर्थ अब यात्रीहरुले अतिरिक्त भाड़ा बेहोर्नु पर्नेछैन।

यसरीनै दुई चक्के वाहनहरुमा दुईजना सवार हुन नपाइने प्रतिबन्ध पनि तत्काल प्रभावसँग हटाइएको सो आदेशमा उल्लेख गरिएको छ। एकै घरको दुईजना व्यक्ति आफ्नो दुई चक्के वाहनमा सवार हुन नपाउँदा धेरै जन-गुनासोहरु पनि सामाजिक सञ्जालहरुमा देखिएको थियो।