सिक्किम मनिपाल काण्ड:  3 करोड़भन्दा बढ़ीको ठगी

सिक्किम मनिपाल काण्ड:  3 करोड़भन्दा बढ़ीको ठगी
Crime branch, Sikkim Police at the Press Conference, describing how the accused were caught

गान्तोक, 13 अक्टोबर: सिक्किम मनिपाल इन्टिट्युट अफ मेडिकल साइन्स (एसएमआइएमएस)मा विद्यार्थी भर्नालाई लिएर ठगीको मामला अघि आएको छ। संस्थानमा एमबीबीएस अनि अन्य पोस्ट ग्र्याजुएट कोर्सहरुमा भर्ना गरिदिने भन्दै धेरैलाई भ्रममा पारेर पैसा लिएको आरोपमा पश्चिम बंगाल मालबजार निवासी सुमंत्रा गुप्तालाई सिक्किम पुलिसले पक्राउ गरेको छ। मनिपालमा रहेको रेकर्ड अनुसार अहिलेसम्म कुल 22 जना पीड़ितहरुले आधिकारिक रुपमा गुनासो गरेको सिक्किम मनिपालका अधिकारीहरुले बताए। ठगिएकाहरुको संख्या सो भन्दा बढ़ी रहेको तर उनीहरुले आधिकारिक रुपमा गुनासो दर्ता गर्न नचाहेको अधिकारीहरुले बताए।

अहिलेसम्म प्राप्त सिकायतहरुमा विभिन्न व्यक्तिहरुलाई रु. 15000 देखि रु 30 लाखसम्म ठगेको थाहा लागेको जानकारी संस्थानकी एडमिसन अधिकारी डा. दिछेन्ला भुटियाले गराएकी हुन्। 22 जना व्यक्तिहरुबाट आरोपीले कुल 1 करोड़ 66 लाख भन्दा बढ़ी पैसा ठगेको जानकारी मनिपालसँग रहेको बताइएको छ।  आरोपी 2001मा सिक्किम मनिपालकै फिजियोथेरापी (बीपीटी)को छात्र रहेको तर तिनले आफ्नो पाठ्यक्रम पूरा नगरेको जानकारी एसएमआइएमएसका डीन ब्रिगेडियर भीके मेहताले गराए। आरोपी अनि तिनका साथीहरुले 2015 देखिनै विभिन्न मानिसहरुलाई ठग्दै आएको तिनले जानकारी गराए।

आरोपीले सबै मेडिकल भर्ना बन्द भईसकेपछि भर्ना नपाएका विद्यार्थीहरुलाई सिक्किम मनिपालमा एउटा सीट खाली रहेको भन्दै आफूलाई संस्थानको डीन बताएर भर्ना गरिदिने झूठो आशा देखाई रुपियाँ असुल्ने गरेको जानकारी ब्रिगेडियर मेहताले जानकारी गराए। मानिसहरुलाई भरोसा दिलाउन आरोपीले मनिपालबाट एकजना विद्यार्थीले पाठ्यक्रम छोड़ेर गएको अनि सो रिक्त स्थानमा भर्नाको निम्ति संस्थानले मेडिकल काउन्सिलबाट अनुमति पाएकोले सोही स्थानमा भर्ना गराइदिने भन्ने गरेको मनिपालका अधिकारीहरुले जानकारी गराए।

सिक्किम क्रोनिकलसँग बातचीतको क्रममा ब्रिगेडीयर मेहताले 2019मा डीनको पदभार सम्हालेसँगै विभिन्न व्यक्तिहरु उनले मेडिकल कोर्समा भर्ना गराइने वाचा गरेर पैसा लिएको भन्दै उनको कार्यलयमा आउन थालेको बताए। एक दुई गर्दै मानिसहरु आएर तिनलाई बारम्बार यस्तो भन्न थालेपछि आफूलाई धेरै ग्लानि महसुस भएको तिनले बताए। त्यसपछि तिनले सिक्किम पुलिसका डीजी सुधाकर रावसँग भेट गरी सिकायत राखेको मनिपालका डीनले बताए। तिनलाई सीआइडीसँग सिकायत दर्ता गर्न लगाइयो। गत 2019को फरवरी महिनामा सीआइडीमा सिकायत दर्ता गराएको ब्रिगेडियर मेहताले बताए। त्यसपछि लगातार चलेको अनुसन्धान पश्चात आरोपीलाई पक्राउ गरिएको बताइएको छ।

हिज सिक्किम पुलिसको अपराध शाखाले यसबारे एउटा पत्रकार सम्मलेन डाकेर आरोपीलाई पक्राउ गरेको जानकारी सार्वजनिक गरेको थियो। सदर थानामा दर्ता भएको 3 वटा मामला अनि सीआइडीमा दर्ता भएको एउटा मामलामाथि जाँच अधिकारी एएसपी रिनजिङ छोपेल राईको अधिनमा भएको अनुसन्धान पश्चात सिलगढ़ी पुलिसको सहयोगमा आरोपीलाई आइतवार दिउँसो पक्राउ गर्न सफल बनेको जानकारी सिक्किम पुलिसले गराएको हो। आरोपीबाट 3 वटा मोबाइल फोन, एउटा एप्पल म्याकबुक, एउटा नयाँ गाड़ी, इन्टर्नेट डोङ्गलहरु अनि 31 वटा भन्दा बढ़ी सिम कार्ड जफत गरेको सीआइडीले बताएको हो।

आरोपीलाई सिक्किम पुलिसले पाँच दिनको निम्ति हिरासतमा लिएको छ। उक्त पाँच दिनमा आरोपीले कस्तो प्रकारले मानिसहरुलाई ठग्ने काम गरेको हो सो पत्तो लगाउने भनिएको छ। हिजसम्मको सोधपुछमा आरोपीले 40जनाभन्दा बढ़ी मानिसहरुलाई ठगेको अनि उनीहरुबाट कुल 3 करोड़ भन्दा बढ़ी असुलेको जानकारी हात लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। आरोपीमाथि धारा 419, 420, 468, 471, 120 बी अनि आइटी एक्ट 2000को 66 सी अनि डी अन्तर्गत मामला दर्ता गरिएको छ।         

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:
स्थानीय प्रशासनहरुलाई पर्यटन विभागको अपील

बाघेखोला निवासी संक्रमित महिलाको निधन

बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने