छुवाछुतको कारण पिताको किरिया अलग्गै गर्न बाध्य

छुवाछुतको कारण पिताको किरिया अलग्गै गर्न बाध्य

गान्तोक, 23 जनवरी: पूर्व सिक्किमको रिनाक समष्टि अन्तर्गत रेशी गाउँबाट छुवाछुतको घटना सामु आएको छ। 21औं शताब्दिको 2 दशक बितिसक्दा पनि यसरी जातपातको घटना प्रकाशमा आउँदा सिक्किमेली समाज विक्षुब्ध बनेको छ। रेशी गाउँमा रहने एक भुजेल परिवारमा पिताको देहान्त भएपछि स्वर्गीय भुजेलका पाँच छोरामध्ये साइँला छोरालाई अनुसूचित जातिको महिला बिहे गरेको कारण बताउँदै समाजका केही मानिसहरुद्वारा छुट्टै काजकिरिया गर्न लगाइएको जानकारी प्रकाशमा आएको हो। 

घटना 15 जनवरीको भनिएको छ। पिताको देहान्तपछि मन बहादुर भुजेल अनि तिनकी पत्नी कमला दर्जीलाई छुट्टै घरमा रहेर काजकिरिया गर्नु भनेपछि उनीहरूले त्यसै गर्न बाध्य हुनुपरेको भनिएको छ। समाजका केही व्यक्तिहरुले घरका अन्य भाईहरुसँगै काजकिरिया गर्न बसे गाउँका मान्छेहरु नआउने अथवा आएर पानीसम्म पनि नपिउने स्थिति हुन्छ भन्दै उनीहरूलाई अलग्गै घरमा काजकिरिया गर्न लगाएको कुरा पीडित दम्पतीले सिक्किम क्रोनिकलसँग कुरा गर्ने क्रममा बताए। बिहे गरेको 22 वर्षसम्म पतिको परिवारले आफूहरुलाई छुवाछुतको व्यव्हार नगरेको तर यसपाली केही अन्य व्यक्तिहरुको कारण यस्तो स्थितिको सृजना भएको जानकारी कमला दर्जीले गराइन्। 17 जनवरीका दिन सो दम्पतिले अनुसूचित जाति कल्याण संघलाई पत्रमार्फत घटनाको जानकारी गराएपछि संघले यसमाथि आफ्नोतर्फबाटको कार्वाहीलाई अघि बढ़ाएको जानकारी प्राप्त भएको छ। संघलाई पत्राचार गरेको थाहा लाग्नसाथ दम्पतीलाई अन्य भाईहरूसँगै काजकिरिया गर्न लैजान केही व्यक्तिहरू आएको तर आफूहरूले 5 दिनसम्म काजकिरिया धेरै अघि बढ़ाइसकेको तथा आपतको बेला अघि आउने सहयोगी मनहरूलाई पनि ध्यानमा राख्दै सोही स्थानमै रहेर सो क्रमलाई जारी राख्ने निर्णय गरेको दम्पतीले बताए।

यसबारे बोल्दै ग्राम पञ्चायत अध्यक्ष भूषण अधिकारीले उक्त घटना सरासर गलत रहेको बताए। घटनाको समय आफू गाउँबाट बाहिर रहेको अनि थाहा पाउनसाथै घटनालाई संज्ञानमा लिएर आफूले पहल गरेको तिनले बताए। आफू निर्वाचित भएको क्षेत्रबाट यस्तो घटना प्रकाशमा आउँदा यसको नैतिक जिम्मेवारी आफूले लिने तिनले बताए। भारतको संविधान अनुसार सो घटना आपराधिक रहेको तर आफ्नो क्षेत्रबाट यस्तो घटना पहिलोचोटि अघि आएकोले सामाजिक तौरले यसको समाधान हुन सक्ने सम्बन्धमा आफू सकारात्मक रहेको विचार तिनले राखे। घटनामा संलग्न सबै आरोपीहरू अशोक भुजेल, नर बहादुर भुजेल अनि टिकाराम शर्माले मिडियाअघि आएर माफी मागेका छन्। अनुसूचित जाति कल्याण समितिका सचिव के.के. खातीले यस घटनाको कड़ा शब्दमा निन्दा गरेका छन्। गाउँमा सबै नङ-मासु जस्तो एकै भएर रहिरहँदा यस किसिमको वर्तावले आफूहरू आहात भएको तिनले जनाए। 

घटनाबारे बोल्दै अखिल सिक्किम अनुसूचित जाती कल्याण संघका अध्यक्ष शेखर सेवाले घटनाबारे गहिरो दु:ख व्यक्त गरे। समाज यति विकसित भएर गइसक्दा पनि यस्ता किसिमको छुवाछुतको घटना अघि आएको देख्दा आफूहरुप्रति एकदमै अत्याचार भएको महसुस भएको तिनले बताए। रिनाक क्षेत्रका सम्पूर्ण अनुसूचित जाती साथै कल्याण संघतर्फबाट कानूनी कार्वाहीको माग तिनले राखे। पीडित परिवारलाई यथाशीघ्र न्याय दिलाउन आफूले प्रशासनसँग बातचीत गरिसकेको अनि सम्बन्धित अधिकारीहरूसँग पुन: बातचीत गरी सो कार्यलाई अघि बढ़ाउने जानकारी तिनले गराए।