गान्तोकमा 21 सेप्टेम्बरदेखि लकडाउन: 1 अक्टुबर उसो अन्तर्राज्यीय आउजाउ खुल्ला

गान्तोकमा 21 सेप्टेम्बरदेखि लकडाउन: 1 अक्टुबर उसो अन्तर्राज्यीय आउजाउ खुल्ला

गान्तोक, 19 सेप्टेम्बर: राज्यको गृह मन्त्रालयले एउटा आदेश जारी गर्दै आगामी 21 सेप्टेम्बरदेखि 27 सेप्टेम्बरसम्म गान्तोक नगर निगम अन्तर्गतका क्षेत्रहरुमा सम्पूर्ण बन्दा-बन्दी (लकडाउन)को घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड-19)को बढ़दो प्रकोपलाई रोक्न यसो गरिएको भनी आदेशमा उल्लेख छ।

बन्दा-बन्दी अवधिमा गान्तोक नगर निगम अन्तर्गतका क्षेत्रहरुमा सम्पूर्ण वाहन चलाचल निषेध गरिएको छ। आवश्यक सेवामा खटिएका व्यक्तिहरु एवं पुलिसको वाहनहरुलाई परिचयपत्र देखाइ प्रमाणित भएमा आउजाउ गर्न दिइनेछ।

सहसचिव एवं सो भन्दा माथिका सरकारी अधिकारीहरुले वैध प्रमाणपत्र देखाएवापत उनीहरुको वाहनहरुलाई कार्यलय अवधिभित्र चलाचलको निम्ति छुट दिइएको छ।

आवश्यक सामग्री ढुवनीमा खटिएका वाहनहरुको आउ-जाउको निम्ति छुट दिइएको छ। रित्तो मालवाहक गाड़ीलाई सो क्षेत्रबाट बाहिर जान दिइनेछ।

राज्य विधानसभा सचिवालयमा कार्यरत अधिकारीहरु, कर्मचारीहरु एवं विधायकहरुका वाहनहरु (जससँग राज्य विधानसभा सचिवालयको वैध पास छ)लाई 21 सेप्टेम्बरको निम्ति सो क्षेत्रमा आउ-जाउ गर्न छुट दिइएको छ।

चिकित्साको निम्ति प्रयोगमा ल्याइएका वाहनहरुलाई वैध उपचार कागज देखाएवापत छुट दिइनेछ।

लकडाउनको अवधिभरि औषधी अनि राशन बिक्री गर्ने दोकानहरुबाहेक अन्य सम्पूर्ण दोकानहरु, सपिङ कम्पलेक्स, व्यावसायिक संस्थानहरु, स्पाहरु, सैलुनहरु, वाहन सोरुमहरु, जीमहरु, ग्यारेजहरु, टायर रिपियर दोकानहरु, रेस्टुरेन्टहरु, बारहरु, फास्ट फुड, मिठाई दोकानहरु, बेकरीहरु, होटल, गेस्ट हाउसहरु, होमस्टेहरु सबै बन्द रहनेछन्। क्वारेन्टाइनको निम्ति पूर्व जिल्ला प्रशासनसँग आवद्ध होटल अनि गेस्ट हाउसहरु भने खुल्ला रहनेछन्।

केन्द्र सरकारका कार्यलयहरु केन्द्रकै निर्देश बमोजिम चलाइने छन्। राज्य सरकारका कार्यलयहरु 30% कर्मचारीहरुको साथमा चलाइनेछन्। यस अवधि विभाग प्रमुखले सबै ग्याजेटेड अधिकारीहरुको कार्यलयमा उपस्थिति सुनिश्चित गर्नुपर्नेछ। विभागीय प्रमुखले आव्श्यक्ता अनुरुप कर्मचारीहरुको निम्ति 2 वटा पास सहित साझा वाहनको व्यवस्था मिलाउन सक्नेछन्।   

परिचय पत्र प्रस्तुत गरेवापत सरकारी वाहनहरुलाई कार्यलय समयको एक घण्टा अघि-पछि मात्र आउ-जाउ गर्न दिइनेछ।

आगामी 1 अक्टुबर उसोको निम्ति राज्यको स्वास्थ्य विभागले अन्तर्राज्यीय आउजाउको निम्ति नयाँ कोभिड-19 प्रोटोकल जारी गर्नेछ। वैध विसा भएका विदेशी पर्यटकहरुको निम्ति 10 अक्टुबर उसो इन्नर लाइन पर्मिट जारी गरिनेछ। स्वास्थ्य विभागसँग परामर्श लिएर पर्यटन विभागले होटल, होमस्टे तथा अन्य पर्यटकीय क्रियाकलापहरुका निम्ति नयाँ एसओपी तयार पार्नेछ जो आगामी 10 अक्टुबर उसो लागु हुनेछ। नयाँ एसओपीको पालना गर्दै 27 सेप्टेम्बर उसो होटल अनि होमस्टेहरुले बुकिङ लिन शुरु गर्न सक्नेछन्।

आगामी 1 अक्टुबर उसो हेलिकप्टर सेवा सुचारु रुपमा शुरू हुनेछ। ट्याक्सी वाहनहरुको निम्ति 1 अक्टुबर उसो जोड़-बिजोड़ नियम लागु रहनेछैन। निजी वाहनहरुले भने अर्को आदेश जारी नभएसम्म सो नियमको पालना गर्नुपर्नेछ।  

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

मेरो नाममा कसैले पैसा मागे थानामा जानकारी दिनु: जेकब खालिङ

थप 2 जनालाई लग्यो कोभिडले: कुल मृत्यु 28'