च्याखुङ डाकबंगला विकासको आधारशीला राखियो

च्याखुङ डाकबंगला विकासको आधारशीला राखियो
Photo Credit: Voice of Sikkim

गान्तोक 11 अक्टोबर (आइपीआर): पश्चिम सिक्किम सोरेङ सब-डिभिजन अन्तर्गत मालबाँसेमा राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)ले च्याखुङ डाकबंगलाको एकिकृत विकासको निम्ति आधार शिला राखे।  समारोहलाई सम्बोधन गर्दै मुख्यन्त्री गोलेले कार्यक्रमको सफलताको निम्ति उपस्थित सबैलाई बधाई दिए। कोभिड-19 महामारीको रोकथाम एवं प्रबन्धनको निम्ति राज्य सरकार निरन्तर लागिपरेको तर मास्क, सामाजिक दुरी अनि स्वच्छता नै सही अनि पूर्ण रोकथामको उपायहरु हुन्, तिनले भने।

सरकारका विभिन्न नीतिहरुबारे बोल्दै राज्यमा बढ़दो क्यान्सर रोगलाई मध्यनजर गर्दै सरकारले दक्षिण सिक्किमको जोरथाङ स्थित कर्फेक्टारमा विश्व स्तरीय क्यान्सर अस्पतालको निर्माण गर्न लागेको तिनले बताए। वर्तमान सरकारले बृद्ध भत्ता बढ़ाएको पनि मुख्यमन्त्रीले उल्लेख गरे। सेन्टेर अफ एक्सिलेन्स् च्याखुङ विज्ञान महाविद्यालयलाई पनि सरकारद्वारा पूर्ण पूर्वाधार प्रदान गरिने तिनले विश्वास दिलाए। राम्रो कृषि उदपादन गर्ने कृषकहरुको निम्ति प्रोत्साहन राशि प्रदान गरिने तिनले बताए।      चुम्बुङ बीएसी निर्माणको निम्ति टेंडर भइसकेको तिनले समारोहमा उपस्थितलाई अवगत गराए। कृषि ऋण लिन ईच्छुकहरुलाई तिनले बाँस खेती गर्ने सुझाउ राखे। उक्त लोनमा 35% सब्सिडी रहेको पनि तिनले जानकारी गराए। तिनले स्नातकसम्मको शिक्षाको निम्ति मुख्यमन्त्री छात्रवृति योजनाबारे पनि अवगत गराए।

समारोहमा बोल्दै मुख्यमन्त्रीले अहिलेसम्म सिक्किममा 30 वटा डायलाइसिस मशिनहरु जड़ान भइसकेको जानकारी गराए। सम्पूर्ण औषधीहरु उपलब्ध गराइ बहुसुविधा भएको वाहनद्वारा राज्यको गाँउ-गाँउमा मोबाइल क्लिनिक सञ्चालन गर्नेबारे पनि  तिनले जानकारी गराए।  तिनले राज्यमा बीएसएनएलको छुट्टै प्रशासनिक केन्द्र स्थापित गरी राम्रो इन्टर्नेट सुविधा विस्तार गरिनु पर्नेमाथि पनि जोर दिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री साम्डुप लेप्चाले डाक-बंगला विकासको निम्ति सरकारले सम्पूर्ण सहयोग प्रदान गर्ने जानकारी गराए। वर्तमान सरकार राज्यको विकासको निम्ति प्रतिबद्ध रहेको तिनले बताए। समारोहमा सड़क अनि पूल विभागका सचिव टीपी साङदेर्पाले प्राविधिक रिपोर्ट पेश गरे। समारोहमा बोल्दै तिनले केन्द्रिय मन्त्री रामविलास पासवानको निधनमा गहिरो संवेदना प्रकट गरे।    

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:
स्थानीय प्रशासनहरुलाई पर्यटन विभागको अपील

बाघेखोला निवासी संक्रमित महिलाको निधन

बुधबारसम्म एसटीएनएमको ल्याब बन्द: आरटीपीसीआर जाँच नहुने