41 नयाँ मामला: कुल 35 जनाको ज्यान गयो

41 नयाँ मामला: कुल 35 जनाको ज्यान गयो

गान्तोक, 29 सेप्टेम्बर: राज्यमा 41 वटा नयाँ कोभिड संक्रमण देखा परेको छ। जसमध्ये 40 वटा मामला पूर्व सिक्किमबाट मात्रै रहेको छ भने एउटा पश्चिम सिक्किमबाट रहेको बताइएको छ। 5 जनाको उपचार यहाँ एसटीएनएमको आइसीयु वार्डमा चलिरहेको छ।

गत 28 सेप्टेम्बरको स्वास्थ्य बुलेटिनमार्फत विभागले संक्रमणबाट दुईजनाको ज्यान गएको बताएको थियो। अग्रपंक्तिका कोभिड योद्धा आइआरबीका हेड कंस्टेबल 43 वर्षीय दिल कुमार राई यसमध्ये एक रहेको जानकारी गराइएको छ। तिनलाई खोकी अनि सम्बन्धित अन्य समस्याहरु रहेको थियो। तिनी नाम्ची अस्पतालमा स्वास्थ्य जाँचको निम्ति आएका थिए अनि त्यहाँबाट तिनलाई पहिले मनिपाल अस्पताल अनि पछि फेरि एसटीएनएम अस्पताल पठाइएको थियो। अस्पतालको आइसीयु वार्डमा तिनलाई  भेन्टिलेटरमा राखिएको थियो। तिनको अवस्था बिग्रदै गएपछि केही घण्टामा तिनको ज्यान गएको जानकारी गराइएको छ।

यसरीनै एक 75 वर्षीय महिलाको पनि संक्रमणबाट ज्यान गएको छ। नाम्चीमा गरिएको र्यापिड एन्टिजेन टेस्टमा मामरिङ दक्षिण सिक्किमकी सो महिला पोजिटिभ पाइएकी थिइन्। तिनलाई गत 27 सेप्टेम्बरको दिन एसटीएनएम अस्पतालमा पठाइएको थियो। आइसीयुमा भर्ना गरेर उपचार चलाउने क्रममा सोही बेलुकी तिनको निधन भएको जानकारी गराइएको छ। यससँगै राज्यमा अब कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या 35 पुगेको छ।

हिज 25 अनि आज 41 नयाँ मामला थपिएसँगै राज्यमा अब  सक्रिय मामला 667 पुगेको छ। 2154 जना संक्रमणमुक्त भइसकेका छन्। राज्यमा कुल पोजिटिभ संख्या 2856 पुगेको छ।