सिक्किममा तेस्रो कोभिड-19 संक्रमण

सिक्किममा दोस्रो कोभिड-19 संक्रमणको पुष्टि भएको 24 घण्टा नबित्दै तेस्रो संक्रमणको पनि पुष्टि भएको छ। राज्यमा यो तेस्रो आयातित संक्रमण हो। मुम्बईबाट सिक्किम आएका एक व्यक्तिको रिपोर्ट पोजिटिभ आएको जानकारी स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिन मार्फत दिएका हुन्। मुम्बाईमा छँदानै कोभिडको जाँच गराइ तिनी रिपोर्टको प्रतिक्षामा थिए।

4 जूनका दिन श्रमिक एक्प्रेस ट्रेनबाट एनजेपी आइपुगेका ती व्यक्ति एसएनटी बसमा चढ़ेर यात्रा गर्ने क्रममा तिनले फोनमार्फत आफू कोभिड-19 पोजिटिभ रहेको खबर पाएका थिए। सो बसमा तिनी लगायत बस-चालक गरी जम्मा 14 जनाले यात्रा गरेको बताइएको छ।

संक्रमित व्यक्ति आएको ट्रेनको डिब्बा नम्बर 4 भने प्राय: खालीनै रहेको अनि त्यसमा सिक्किमको अन्य कोही व्यक्ति नरहेको भनी बताइएको छ। सो डिब्बामा अन्य उत्तरपूर्वी राज्यका केही मानिसहरु यात्रा गरेकाले ती सबै राज्यहरुलाई सिक्किम सरकारको तर्फबाट खबर गरिसकिएको भनी हेल्थ बुलेटिनमा जनाइएको छ।

संक्रमित व्यक्ति हाल एसटीएनएम अस्पतालमा उपचाराधिन छन् भने तिनलाई कुनै पनि लक्षण भने नरहेको भनिएको छ। तिनीसँगै एसएनटी बसमा आएका अन्य 13 जनालाई मल्लीमा स्क्रिनिङ पश्चात सबैको टेस्ट रिपोर्ट नआएसम्म अलग्गै क्वारेन्टाइनमा राखिने कुरा डा. भुटियाले बताएका छन्।

सिक्किममा कोभिड नियन्त्रण गर्न सम्पूर्ण प्रशासन पूर्ण तत्परताको साथ निरन्तर लागिपरेको अनि स्वास्थ्य विभागमा पीपीई, एन-95 मास्क लगायतका सम्पूर्ण आवश्यक वस्तुहरुको कुनै कमी नरहेको स्वास्थ्य सचिव डा. भूटियाले बताए। दिन-दिनै नयाँ संक्रमणको खबर आइरहँदा सिक्किमे जनतालाई नआत्तिइ बसिदिने, बरु सकेसम्म सावधानी अप्नाउदै कुनै पनि किसिमको अफवाहहरुमा ध्यान नदिने डा. भूटियाले आव्हान गरेका छन्।

Leave a Reply