Gangtok, June 19:

देशमा कोभिड-19 संक्रमणको बढ़दो संख्याबीच सिक्किमको निम्ति अतिनै खुशीको खबर आएको छ। राज्यका 65 जना सक्रिय कोभिड-19 संक्रमितहरुमध्ये 16 जनाको रिपोर्ट नेगेटिभ आएको छ। यसमा दक्षिण सिक्किमका 15 जना अनि पश्चिम सिक्किमको एकजना व्यक्ति रहेका छन्। सो कुराको जानकारी स्वास्थ्य सचिव डा. पेम्पा टी. भुटियाले 19 जून बेलुकी हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरेका हुन्।
सबैलाई कोभिड वार्डमा राखी सरकारद्वारा उपचार चलाइएको थियो। हिजसम्म 5जना कोरोनामुक्त भएर ‘होम क्वारेन्टाइन’को निम्ति आ-आफ्नो घर फर्किसकेका थिए। हिजनै थप 16 जनाको रिपोर्ट नेगेटिभ पाइएको समाचार डा. पेम्पाले सार्वजनिक गरेका थिए। नियमअनुसार नेगेटिभ आएपछि 24 घण्टापश्चात पुन: जाँच गर्दा फेरी नेगेटिभ आएमा मात्र संक्रमित कोभिडमुक्त भएको पक्का-पक्की हुँदछ। आजको दोहोरो जाँचमा सबै 16 जनाको रिपोर्ट पुन: नेगेटिभ आएपछि तिनीहरुलाई अस्पतालबाट छुट्टी दिइएको हो। यससँगै राज्यमा अहिलेसम्म कुल 21जना कोरोनाबाट निको भइसकेका छन्।
सिक्किममा अब सक्रिय मामला घटेर 49 पुगेको छ। सबै सक्रिय संक्रमितहरुलाई कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिने क्रम जारी रहेको छ। स्वास्थ्य सचिव डा. भुटियाले यसरीनै सबैलाई निको पारी चाँड़ै संक्रमितको संख्या पुन: एकल अंकमा पुर्याउने अटूट प्रयास जारी रहेको बताए।
स्मरण रहोस्, सिक्किमका सबै संक्रमणहरु आयातित हुन्। अहिलेसम्म समुदायबाट एउटै पनि संक्रमणको रिपोर्ट आएको छैन। सरकार अनि कोभिड योद्धाहरु बड़ो तत्परताको साथ यसको रोकथाममा लागिपरेकोले सिक्किम पुन: कोरोनामुक्त हुने दिशातिर बढ़िरहेको महसुस गरिएको छ।

Leave a Reply