संस्कृत शिक्षकहरुको अगस्त महिनामा पुन: नियुक्ति हुने

संस्कृत शिक्षकहरुको अगस्त महिनामा पुन: नियुक्ति हुने

राज्यमा संस्कृत शिक्षकहरुको पुन: नियुक्ति हुने भएको छ। गत 26 जूनको दिन राज्यको शिक्षा विभागद्वारा एउटा आदेश जारी गरी उनीहरुलाई मार्च महिनासम्मको तलब दिएवापत उनीहरुको सेवावधि अप्रेल उसो नरहने बताइएको थियो। 

राज्यका विभिन्न राजनैतिक तथा गैर राजनैतिक संस्थानहरुले यस सन्दर्भमा विभिन्न प्रतिक्रिया दिँदै प्रतिवाद जनाएका थिए। संस्कृत शिक्षकहरुले पनि भिडियो जारी गरी दु:ख प्रकट गरेका थिए। 

30 जूनको दिन यसै सन्दर्भमा छलफल गर्न मुख्यमन्त्री पी. एस. गोलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो। त्यसपश्चात संस्कृत शिक्षकहरुलाई अरु एडहक शिक्षकहरुसरह पुन: नियुक्ति दिइने जानकारी गराइएको थियो।  

केन्द्र सरकारको दिशा-निर्देश अनुसार आगामी 15 अगस्त उसो पाठशालाहरु खोलिएपछि नियमबद्ध रुपमा संस्कृत शिक्षकहरुको नियुक्ति हुने जानकारी मुख्यमन्त्री पी. एस गोलेले 01 जूलाईको दिन एसटीएनएम परिसारमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा बताएका हुन्। 

सिक्किमका विभिन्न सरकारी विद्यालयहरुको निम्ति राज्य सरकारद्वारा गत वर्ष 124 संस्कृत शिक्षकहरुको नियुक्ति गरिएको थियो। सिक्किम सरकारले संस्कृत शिक्षकहरु नियुक्त गरेमा राष्ट्रीय संस्कृत संस्थानद्वारा ती पदहरुको निम्ति कोष प्रदान गरिने प्रस्ताव आएपछि उनीहरुको नियुक्ति भएको अनि संस्थानद्वारा कोष प्राप्त नभएमा उनीहरुको सेवालाई निरन्तरता दिन नसकिने शर्तमा सबै शिक्षकहरुलाई नियुक्त गरिएको मुख्यमन्त्री गोलेले बताए। पछि संस्थानद्वारा कोष प्राप्त नहुँदा पनि सरकारले उनीहरुलाई बीचैमा नहटाएको अनि राज्यकै कोषबाट उनीहरुको मार्च महिनासम्मको तनखाको व्यव्स्था मिलाइएको तिनले बताए।

अगस्त उसो नियुक्ति पाएका शिक्षकहरुले बी.एड. डिग्री भएमा रु. 10,000 अनि बी. एड. नभए रु. 8000को दरले तलब पाउने बताइएको छ। राष्ट्रीय संस्कृत संस्थान अनुसार संस्कृत शिक्षकको नियुक्तिको निम्ति शास्त्री अनि आचार्यको डिग्रीसँगै सबैको बी.एड. अथवा शिक्षामा डिप्लोमा हुन अनिवार्य गरिएको छ। यसैले सो मापदंड पूरा गर्नको निम्ति नियुक्ति पाएका सबैलाई 3 वर्षको समय दिइने गत 30 जूनको बैठकमा निर्णय गरिएको बताइएको छ।