सिक्किमेली पत्रकारिता क्षेत्रमा एउटा सूर्य अस्तायो, जसले निष्पक्ष रूपमा प्रकाश दिनेगर्थ्यो अनि त्यो नाम हो सन्तोष निराश अर्थात् सबैकी माँजी। राजनैतिक व्यक्तित्व पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी, बी. बी. गुरुङ, सञ्चमान लिम्बू, पवन चामलिङ, पी. एस गोले (वर्तमान मुख्यमन्त्री)-देखि प्रतिष्ठित व्यवसायीसम्म सबैकी माँजी।

सबैकी प्यारी शिक्षिका, प्रखर वक्ता, सहज व्यक्तित्वकी धनी माँजी आफ्नो देह छोड़ेर गए पनि सबैको हृदयमा वास गर्न सफल। कसैको दवाबमा नआउने, नलेख्ने कुनै कुरा भन्न नहिचकिचाउने, न्यायको निम्ति आफ्नो समय निवर्हन गर्ने स्रष्ठा थिइन् उनी। ठूला ठूला ग्रन्थ लेखेर मात्र स्रष्ठाको रूपमा आफूलाई उभ्याउन सकिन्न साना-साना विषयहरूलाई टिपेर, साना नानीहरूको मनोविज्ञानको अध्ययन गरेर, उनीहरूको दिन-चर्यालाई ध्यानमा राखेर पनि स्रष्ठाको रूपमा उभिन सक्षम हुनसकिन्छ भन्ने जीवन दर्शन दिन सफल सन्तोष निराश।

आफ्नो जीवनको पाँच दशकभन्दा बढ़ी समय पत्रकारितालाई दिएर सिक्किमको विकासमा टेवा दिने स्रष्ठा सन्तोष निराश। उनी उठ्दा पत्रकारिता जगत् बिउँझन्थ्यो भने उनी हिँड्दा पत्रकारहरूको जमात उनी सँगसँगै सलबलाउँथ्यो। प्रेस कन्फरेन्सतिर राजनैतिक व्यक्तित्व अथवा सामाजिक कार्यकर्ताहरूलाई प्रश्न गर्न नहिचकिचाउने माँजीको निधनमा शोक सन्तप्त नहुने सायदै कोही होलान्। उनी बाँचिन् त केवल आत्मसम्मानका साथ, हिँड़िन् त केवल स्वाभिमानका साथ। यस्ता विरलै व्यक्ति होलान् जसले केवल समाज र मान्छेको निम्ति सोचेर जीवन गुजार्छन्। यस्तै कोटिमा पर्छिन्-सन्तोष निराश।     

सिक्किम एक अलग राष्ट्र रहँदाको समयदेखि नै पत्रकारिताको क्षेत्रमा योगदान दिएर सिक्किमको छविलाई राष्ट्रिय स्तरमा पुर्‍याउनेहरूको लर्को लामो होला। यस लर्कोमा सन्तोष निराशज्युको नाम लिइएन भने योभन्दा अर्को निराशा सायद छैन।

सन्तोष निराशको जन्म अविभाजित भारतको दादन खान गाउँ अर्थात् अहिले पाकिस्तानभित्र 3 अक्टोबर, 1928-मा भएको थियो। उनी पिता हरिशचन्द्र बाली तथा माता सुशीलावतीकी पुत्री थिइन्। 1959-मा सिक्किममा वेस्ट पोइन्ट स्कूलमा सिक्किम सरकार (राजाकालीन दरबार) -को बोलाहटमा अध्यापिकाको रूपमा आएकी थिइन्। पछि सिक्किम राजाकै निजी स्कूल ताथाङचेनमा पढ़ाउन लागिन्। यसका साथै उनले आफ्नै एउटा नर्सरी स्कूल चलाउँथिन्।

उनको आफ्नै भनाइअनुसार ‘…हो, म बाल शिक्षामा रुचि राख्छु। मैले निजी स्कूल खोल्ने निर्णय किन गरें भने साना नानीहरूलाई अक्षर-ज्ञानबाहेक उनीहरूको सर्वांगीण विकास गराउन सकियोस्। त्यो समयमा सिक्किमभरि केवल सरकारी स्कूल मात्र सञ्चालित हुन्थे। मेरो निजी स्कूल सिक्किममा आफ्नो प्रकारको पहिलो नर्सरी स्कूल थियो।’

श्रीमती सन्तोष निराशलाई सिक्किम केन्द्रिय विश्वविद्यालयमा Gender Sensitization Unit को सदस्यमा मनोनीत गरिएको थियो भने उनलाई 2010 मा राज्यको प्रथम आधिकारिक aids ambassador बनाइएको थियो। सिक्किमको शीर्षस्थ प्रकाशन संस्था निर्माण प्रकाशनले पत्रकारिता क्षेत्रमा माँजीको उल्लेखनीय योगदानका लागि 2002-मा अभिनन्दित गरेको थियो। यसका साथै 2009-मा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत् प्रेस क्लब आफ सिक्किमले कञ्चनजङ्घा कलम पुरस्कारद्वारा सम्मानित गरेको थियो। सिक्किम सरकारको तर्फबाट समाज सेवा तथा पत्रकारितामा उच्च योगदानका निम्ति सम्मानित गर्नका साथै पुरस्कृत गरिसकेको छ। माँजी अर्थात् श्रीमती सन्तोष निराशलाई काशीराज प्रधान लाइफ टाइम एचिभमेण्ट प्राप्त भएको थियो। 

उनका जीवनका पानाहरूलाई पल्टाउँदै जाँदा के पाइन्छ भने लेखनप्रति रुचि उनलाई विद्यार्थीकालदेखि नै थियो। उनको कलेज जीवनमा  VAN GUARD नामक पत्रिका निस्कन्थ्यो जसमा उनका कथा, लेखादि छापिन्थे। सिक्किममा शिक्षाको प्रचार कार्यमा उनी 1959 देखि जोड़िएकी थिइन्। त्यसको केही समयपछि पत्रकारिता पेशासँग जोड़िएकी हुन्।

यस विषयमा उनको मन्तव्य यस्तो छ- ‘…मेरा श्रीमान श्री प्रेमसागर निराश सिक्किमबाट Daily Telegraph (London), Times of India, Malayalam Manorama आदि पत्र-पत्रिका तथा समाचार एजेन्सीहरूसँग संलग्न थिए। घरमा पत्रकारिताको वातावरण थियो। मैले 1975-मा सिक्किम भारतमा विलय भएपछि राज्यको विकासीय कार्यक्रममा 1970-को दशकको अन्तिमतिर The asian Features का लागि काम गरें। मेरा श्रीमान मेरो पत्रकारितामा गुरु हुन्।’

सन्तोष निराशले 1975-मा सम्पूर्ण देशमा आपात्काल लगाउनभन्दा पहिले Broader News Views  निकालिन्। आपात्काल अवधिमा उनी सबै कुरा छोड़ेर UNI मा काम गर्नथालिन्। Broader News Views 1987-सम्म प्रकाशित भयो। उनले चलाउँदै गरेको नर्सरी स्कूल पनि स्थानीय एक योग्य महिलालाई सुम्पेर उनी पूर्णकालिक पत्रकारिता पेशामा संलग्न भएपछि ‘जमाना सदाबहार’ प्रकाशित गर्नथालिन्। जमाना सदाबहार सिक्किममा पहिलो हिन्दी समाचार पत्र हो। 

सामाजिक कार्यमा पनि उनी त्यतिकै सक्रिय भएका कारण उनलाई Women’s Council, Sikkim को सदस्या बनाइयो। यसबारेमा उनको भनाइ यस्तो रहेको छ-‘1980 को प्रारम्भिक वर्षतिर जब होमी जे. एच.तल्यार खान सिक्किमका राज्यपाल थिए, उनकी धर्मपत्नी श्रीमती त्रिथी तल्यार खानको अध्यक्षतामा विमेन्स काउन्सिल, सिक्किम शाखाको सदस्यको रूपमा सिक्किममा महिलाका समस्या, उसका अधिकार एवं उनीहरूको सर्वांगीण प्रगतिको क्षेत्रमा मैले सेवा दिने अवसर प्राप्त गरेकी छु। “आशी” (association for Social Health in India) सिक्किम शाखाको उपाध्यक्ष पदमा रहेर  बेसहारा एवं विभिन्न कारणअन्तर्गत पारिवारिक हिंसा एवं शोषण आदिबाट प्रभावित महिलावर्गलाई उचित परामर्श दिने अवसर पाएकी छु।’

सिक्किमको विकासमा अर्द्ध शताब्दी समय दिने माँजीको योगदानलाई कुन रूपमा हेरिनेछ, उनको कर्मको मूल्याङ्कन कसरी हुनेछ हेर्न बाँकी छ। आजको युवा पीढीका निम्ति दिएको उनको योगदानको कदर समयले गर्ने नै छ। कुनै निश्चित धारालाई आत्मसात नगरी निर्वाध रूपमा कलम चलाउने हस्ती सन्तोष निराश हामीमाझ नरहे पनि उनले जीवनलाई सहज रूपमा चलाउने मन्त्र दिएकी छन्। आफ्नो कर्मलाई नै धर्म ठान्ने माँजीका बारेमा पत्रकार जगत्का हस्तीहरूले आ-आफ्ना मन्तव्य जारी गरेका छन्।

यसका साथै राज्य स्तरमै शोक व्यक्त गरिएको छ। आफ्नो आत्मसम्मानलाई बचाउँदै समाजको निम्ति कसरी काम गर्नसकिन्छ भन्ने कुरा माँजीले सिकाएर गएकी छन्। उनको निधनले म आफै पनि अति शोकित भएको छु। उनको निधनभन्दा एक वर्षअघि उनलाई ओछ्यानमै भेटेको थिएँ। त्यो समयमा पनि उनको स्वरमा त्यही उर्जा र साहस थियो, जुन कुरा हामी पहिले पाउने गर्थ्यौं।

जमाना सदाबहारले सिक्किममा एउटा नमेटिने इतिहास निर्माण गरेको छ। वर्तमानमा माँजीकी छोरी नीता निराशले जमाना सदाबहार चलाइराखेकी छन्। यो समाचार पत्रले आफूलाई दीर्घ अवधिसम्म लिएर जानेछ भन्ने आशा राख्न सकिन्छ। अन्त्यमा  सन्तोष निराशज्युको आत्माले स्वर्गमा स्थान पावोस् भन्ने कामना राख्दै उहाँका परिवारलाइ यो दुखद घड़ीको सामना गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्न चाहन्छु।

स्रोत ः

1. वरिष्ठ पत्रकार सुवास दीपकद्वारा लिखित अन्तर्वार्ता

2. संवाहक (ऐतिहासिक विकासक्रममा सिक्किमेली पत्रकारिता)

3. हिमाली बेला दैनिक

By Arjun Piyush. The author can be contacted at piyus.arjun8@gmail.com

Views/Opinions expressed in the article or write up is purely of the author/writer and not of The Sikkim Chronicle. For any queries or contradictions, the author can be contacted in his/her email id.

Read more related articles:

नेसापद्वारा साहित्यकार-कलाकार टङ्क सुवेदीप्रति भावभिनी श्रद्धाञ्जली अर्पण

सिक्किमकी प्रथम महिला पत्रकार सन्तोष निरशको निधन

कोभिड-19 लाई लिएर अप्रमाणित झूठा खबरहरु नफैलाउने अपील: 1 वर्षसम्म जेलको प्रावधान

Leave a Reply