सिङ्ताम आगजनीमा घर गुमाउनेलाई सरकारबाट भोलिपल्टै राहत राशी वितरण

सिङ्ताम आगजनीमा घर गुमाउनेलाई सरकारबाट भोलिपल्टै राहत राशी वितरण

गत 16 जूनको दिन पूर्व सिक्किमको सिङ्ताम लाल बजारमा भएको आगजनीमा आफ्नो घर अनि दोकान गुमाएकाहरुलाई सरकारले 17 जूनको दिन तुरन्तै राहत वितरण गरेको छ। सिक्किमका मुख्यमन्त्री पी. एस गोले स्वयं घटना स्थलमा पुगेर घटनाबारे सोधपूछ गर्नका साथै पीडित परिवारहरुसँग भेटघाट गरी आफ्नै हातले राहत राशी हस्तान्तरण गरेका हुन्।


आगजनीमा आफ्नो दुईतल्ले घर सम्पूर्ण रुपले गुमाएकी बिनिता सुब्बालाई मुख्यमन्त्री राहत कोषबाट 10 लाख रुपियाँ साथै आपदा राहत कोषबाट 1 लाख 5 हजार दिइयो। यसरीनै एकतल्ले घर सम्पूर्ण रुपले गुमाएका बीर बहादुर सुब्बालाई मुख्यमन्त्री राहत कोषबाट 7 लाख रुपियाँ साथै आपदा राहत कोषबाट 1 लाख 5 हजार दिइयो।

यसका साथै ती घरहरुमा दोकान रहेका चारजना उमा सोनी, पदम घतानी, बलिराम शर्मा अनि उत्तम रोय सबैलाई दुई-दुई लाख राहत राशी प्रदान गरियो। बेन कुमार प्रधान अनि मनोज प्रधानको घरलाई आगजनीमा आंशिक रुपमा नोकसानी पुगेकोले सरकारद्वारा एक-एक लाख रूपियाँ प्रदान गरियो।

सिङ्ताम अग्निशमनको दमकलबारे आएको गुनासोमाथि बोल्दै मुख्यमन्त्रीले भने, समयमा आउन नसकेको होईन तर गल्लीमा विभिन्न हकर दोकानहरु भएको कारण सजिलै छिर्न वाधा पुगेकोले यसो भएको हो। तरै पनि सिक्किमका सबै बजारहरुमा अग्निशमनका सुविधाहरुको जाँच-पड़ताल गरी आवश्यक परेको खण्डमा सुधार अवश्य गरिने कुरा तिनले बताए।

यसका साथै मुख्यमन्त्रीले अब सिक्किमका बजारहरुमा रहेका सबै काठका कच्चा घरहरुलाई एकतल्ले बिल्डिङ्गमा परिणत गरिदिने पहल शुरु गर्ने घोषणा गरे। यस्ता घरहरु सिक्किममा लगभग जम्मा 500वटा रहेको अनि सबैलाई चरणवद्ध रुपमा बनाइने तिनले बताए। यी बिल्डिङ्गहरू सरकारले एक तल्ले बनाइदिए पनि घड़ेरीचाँहि नियमअनुसार पाँच तल्लेसम्म बनाउन मिल्ने गरी बनाइने कुरा तिनले बताए।


मुख्यमन्त्रीसँग मन्त्रीगण कुङ्गा निमा लेप्चा, डा. एम. के शर्मा, अरुण घतानी, बी. एस. पन्त, मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङका साथ विभिन्न विभागका वरिष्ठ अधिकारीगणको उपस्थिति रहेको थिय़ो।