सिङ्गताममा तीन अनि रम्फूमा दुई नयाँ संक्रमण

सिङ्गताममा तीन अनि रम्फूमा दुई नयाँ संक्रमण

गान्तोक, 17 जुलाई: पूर्व सिक्किमको सिङ्गताम अनि रम्फूमा 5 वटा नयाँ संक्रमण देखा परेको छ। सिङ्ताम पुलिस चौकीमा कार्यरत एक भिलेज गार्डमा संक्रमण पोजिटिभ देखिएपछि तिनीसँग सोझै सम्पर्कमा आएका अन्य दुईजनाको रिपोर्ट पनि पोजिटिभ पाइएको स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियाले जानकारी गराएका हुन्।

रम्फूमा देखा परेका दुईवटा संक्रमित भने देउरालीको ‘वर्किङ्ग वोमन्स् होस्टल’मा पोजिटिभ पाइएकी कृषि विभागकी एक महिला कर्मचारीको सोझै सम्पर्कमा आएका तिनका आफन्तहरु भनिएको छ। संक्रमणको पुष्टि भएसँगै सिङ्ताम पुलिस चौकी परिसर अनि 10 मिटर व्यासार्ध (रेडियस)भित्रको क्षेत्र, रम्फूको फाटक लाइन स्थित मनि कुमार सुब्बाको घर अनि 20 मिटर व्यासार्धभित्रको क्षेत्र साथै रम्फू माम्रिङ्ग पूल नजिक सुकलाल लिम्बुको घर अनि 20 व्यासार्धभित्रको क्षेत्रलाई कन्टेन्मेन्ट जोन घोषित गरिएको छ। 

रंगेली अनि दलपचेनमा चलिरहेको र्यापिड एन्टिजेन जाँचमा 359वटा नमुनामध्ये 6वटा पोजिटिभ पाइएको भनिएको छ। 6 जना मध्ये एक संक्रमित एसएसबी क्याम्पको, 3 जना ग्रेफका परिवारका सदस्यहरु र अन्य 2 जना संक्रमितका सेकेन्डेरी कन्ट्याक्टहरु रहेको बताइएको छ।

आजको हेल्थ बुलेटिनमार्फत जम्मा 19वटा नयाँ संक्रमणको मामला अघि आएको जानकारी स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियाले गराए। यो समाचार लेखुञ्जेलसम्म राज्यमा कुल सक्रिय मामला 183 रहेको छ भने 90 जना कोभिड संक्रमणबाट निको भएर आ-आफ्ना घर फर्किसकेका छन्।