रंगेलीमा एन्टिजेन जाँच शुरू

रंगेलीमा एन्टिजेन जाँच शुरू

रंगेली स्थित ग्रेफ क्याम्प अनि वरिपरि कोभिड संक्रमण देखिएपछि त्यहाँका वासिन्दाहरुले सम्पूर्णमा कोभिड जाँचको माग गरेका थिए। सो बारे बुझ्न सिक्किम क्रोनिकलले स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियासँग कुराकानी गरेको थियो। यसबारे बोल्दै डा. भुटियाले सम्पूर्ण ‘ल्याब टेक्निसियनहरुको तालिम रम्फूमा गराइएको अनि सोझै सम्पर्कमा आएकाहरु लगायत अन्यहरुको जाँच यथाशीघ्र शुरु गरिने जानकारी दिएका थिए। यसै अनुरुप 16 जुलाई देखि रंगेलीमा जाँच शुरु भएको छ। 

रंगेली प्राथमिक जाँच केन्द्रमा पर्याप्त कर्मचारी नभएको, रिएजेन्टहरु नपुगेको अनि जाँच पनि शुरु नभएको भन्दै भाइरल भइरहेको एक पोस्टबारे बोल्दै डा. पेम्पाले रंगेली स्थित स्वास्थ्य केन्द्र प्राथमिक जाँच केन्द्र हो अनि नियमअनुसार दिइनुपर्ने सम्पूर्ण कर्माचारी विभागद्वारा दिइएको जानकारी गराए।

नियमअनुसार त्यहाँ दुई चिकित्सा अधिकारी (डाक्टर), दन्त चिकित्सक लगायत सबै कर्मचारी दिइएको जानकारी तिनले गराए। रम्फूमा जनवरी उसो स्क्रिनिङ शुरू भएपछि त्यहाँ लगातार काम गरिरहेका कर्मचारीहरुलाई गाह्रो भएकोले केही कर्मचारीहरु अस्थायी रुपमा यता-उताबाट स्क्रिनिङमा सहयोगको निम्ति ल्याइएको अनि सोही क्रममा रंगेलीको एक चिकित्सा अधिकारी अनि दन्त चिकित्सकलाई रम्फू ल्याइएको तिनले बताए।

रंगेली प्राथमिक स्वास्थ्य केन्द्रमा सो समय चिकित्सा बोझ कम रहेकोले दुई चिकित्सकलाई रम्फू ल्याइएको तिनले जानकारी गराए। रम्फू प्राथमिक चिकित्सा केन्द्रबाट स्क्रिनिङमा एक चिकित्सक गएपछि केन्द्रको चिकित्सा बोझलाई मध्यनजर गर्दै रंगेलीबाट ल्याइएको चिकित्सा अधिकारीलाई त्यहाँ राखिएको जानकारी तिनले गराए। दन्त चिकित्सकलाई भने क्वारेन्टाइन अनि कोभिड नमुना संकलनमा सिक्किमका विभिन्न स्थानहरुमानै खटाउने क्रममा रंगेलीका दन्त चिकित्सकलाई पनि सोही कार्यमा खटाइएको सचिव भुटियाले जानकारी गराए।