गान्तोक, 01 जून, 2020

केन्द्रमा भारतीय जनता पार्टीको नेतृत्वमा लगातार दोस्रोपटक पूर्ण बहुमतको सरकार गठन गरिएको 30 मईको दिन एक वर्ष पूरा भएको छ। गत वर्ष अप्रेल-मई महिनामा सम्पन्न लोकसभा चुनाउमा दशकौंपछि कुनै एउटा पार्टीलाई देशवासीले लगातार दोस्रोपटक पूर्ण बहुमत प्रदान गरेर विगत 5 वर्षमा मोदी सरकारले गरेका विकास तथा साहसिक कदमहरूलाई मोहर लगाएका थिए। यस ऐतिहासिक क्षणमा भारतीय जनता पार्टी, सिक्किम प्रदेश प्रधानमन्त्री श्री नरेन्द्र मोदी, केन्द्रिय मन्त्रीमण्डलका सदस्यगण, भाजपा राष्ट्रिय अध्यक्ष श्री जेपी नड्डा तथा सम्पूर्ण कार्यकर्ताहरूप्रति बधाई तथा शुभकामना व्यक्त गर्दछ।

प्रचण्ड बहुमत लिएर दोस्रोपटक सत्ता सम्हालेपछि प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकारले देशको एकता, अखण्डता, सामाजिक तथा भौतिक विकासको क्षेत्रमा ऐतिहासिक तथा साहसिक निर्णयहरू लिएको छ। चाहे त्यो जम्मू काश्मीरबाट धारा 370 अनि 35 एको निरस्त्रीकरण होस्, अयोध्यामा दीर्घप्रतीक्षित राम मन्दिर मुद्दाको छिनोफानो, तीन तलाकजस्तो सामाजिक कुरीतिबाट मुस्लिम महिलाहरूलाई मुक्ति, नागरिकता संशोधन अधिनियम, 2019, ऐतिहासिक बोडो सम्झौता, ब्रू-रियांग सम्झौता, सेनालाई सशक्त बनाउने दिशामा चीफ अफ डिफेन्स स्टाफको नियुक्ति, वायुसेनालाई सशक्त बनाउन अपाचे लड़ाकू हेलिकप्टर तथा रफायल लड़ाकु विमानलाई सामेल गराउनु आदि प्रमुख उपलब्धिहरू देशले विगत एक वर्षमा हासिल गरेको छ जसले विश्वमा भारतको गौरव बढ़ाउनका साथै भारतलाई अझ शक्तिशाली बनाएको छ।

यसै गरी देशवासीको हितमा आयुषमान भारत योजना अन्तर्गत अहिलेसम्म एक करोड़ गरीब बिमारीहरूको उपचार भइसकेको छ भने प्रधानमन्त्री किसान सम्मान निधि योजनाबाट 14.5 करोड़ किसानहरू लाभान्वित बनिसकेका छन्। यस्तै कैयौं जनकल्याणकारी योजनाहरूबाट आज देशवासीले विभिन्न लाभहरू उठाइरहेका छन्।

अभूतपूर्वक विकासको गतिका साथ अघि बढ़िरहेको भारतलाई यस वर्ष मार्च महिनादेखि वैश्विक महामारी कोभिड-19 को प्रकोपले चपेटमा लिएको छ। यो परीक्षाको घड़ीमा मोदी सरकारद्वारा अप्नाइएको उचित प्रबन्धनको फलस्वरूप आज भारत विश्वका विकसित देशहरूभन्दा धेरै राम्रो स्थितिमा रहेको छ। दुई महिनाको लकडाउन अवधि भारतले कोविड-19 विरूद्ध सम्हालिएर अघि बढ्ने ऊर्जा प्राप्त गरेको छ। दुई महिना अघि जहाँ भारतमा कोरोना उपचार सम्बन्धित विभिन्न उपकरणहरू विदेशबाट आयात गर्नुपर्ने अवस्था थियो भने अहिले सबै उपकरणहरू भारतमै बनिएर निर्यात गर्ने क्षमता हासिल गरिसकेको छ। यस अवधि भारत सरकारले विदेशमा फँसेका 72000 भन्दा अधिक नागरिकहरूलाई फिर्ता ल्याउने काम गरेको छ भने भारतकै विभिन्न राज्यहरूमा फँसेका 52 लाखभन्दा अधिक प्रवासी मजदूर तथा कामदारहरूलाई सुरक्षित गृहराज्य फर्काउने काम गरिसकेको छ।

यसै गरी लकडाउन अवधि देशवासीले झेल्नुपरेको आर्थिक नोक्सानीको भरपाई गर्न केन्द्र सरकारले हालै 20 लाख करोड़को प्याकेजको घोषणा गरेको छ जसले आगामी दिनमा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ अनि भारतलाई आत्मनिर्भर बनाउनमा मद्दत पुऱ्याउनेछ।

सिक्किम प्रदेश भाजपा उपरोक्त ऐतिहासिक उपलब्धिहरूको निम्ति सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै आत्मनिर्भर भारतको अभियानलाई सफल बनाउन केन्द्र सरकारद्वारा घोषित योजनाहरूबाट भरपूर लाभ उठाउन आह्वान गर्दछ। भाजपा, सिक्किमले पनि आगामी दिनमा सिक्किमवासीमाझ आर्थिक प्याकेजका लाभहरू पुऱ्याउन सक्रियताका साथ कार्य गर्नेछ। यसको निम्ति सम्पूर्ण भाजपा विधायकगण, पार्टी पदाधिकारीगण तथा कार्यकर्ताहरूलाई तयार रहन प्रदेश भाजपा आग्रह गर्दछ।

डीबी चौहान

अध्यक्ष

भाजपा, सिक्किम

Leave a Reply