विश्व स्वास्थ्य संगठनले गत शुक्रबार मास्कको प्रयोगबारे नयाँ दिशानिर्देश जारी गरेको छ। यसअघिसम्म स्वास्थ्यकर्मी, कोभिड संक्रमित व्यक्ति लगायत संक्रमितको स्याहार-सुसारमा संलगन रहेका व्यक्तिहरुले मात्र अनिवार्य रुपले मास्कको प्रयोग गर्नुपर्ने दिशानिर्देश दिइएको थियो। स्वस्थ्य व्यक्तिलाई भने यसले कतिको फाइदा गर्छ त्यसबारे पुष्ट तत्थ्य नहरेको विश्व स्वास्थ्य संगठनको भनाई रहेको थियो। भारत लगायत विभिन्न देशका सरकार, संघ-संस्था तथा विज्ञहरुले सार्वजनिक जग्गाहरुमा मास्कको प्रयोग अनिवार्य गरिसक्दा पनि विश्व स्वास्थ्य संगठनले आफ्नो दिशानिर्देशमा फेरबदल भने गरेको थिएन।
यसबारे बोल्दै विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जेनरल टेड्रोस अदनोम गेब्रियससले भने, “सबै देशका सरकारहरुले जनसाधारणलाई सार्वजनिक स्थानहरुमा मास्कको प्रयोगको निम्ति प्रोत्साहित गर्नुपर्नेछ”। “व्यापक रुपमा कोभिड-19को फैलाउ रहेका जग्गाहरुमा सामाजिक दुरी अप्नाउन केही गाह्रो हुने ठाउँहरु जस्तै सार्वजनिक यातायातका सवारी साधनमा यात्रा गर्दा, दोकानहरुमा, बन्द ठाउँहरुमा अनि भीड़-भाड़ बढ़ी भएका ठाउँहरुमा मास्कको प्रयोग गर्न आवश्यक छ”, तिनले भने।


गत पाँच जूनका दिन विश्व स्वास्थ्य संगठनले कोभिड-19माथि अहिलेसम्म गरिएको विभिन्न अनुसन्धानहरुलाई मध्यनजर गर्दै मास्क सम्बन्धि आफ्नो दिशानिर्देशमा केही फेरबदल गरेको हो। अबको दिशानिर्देशमा कोभिड-19को संक्रमण रोक्न सबै जनसाधारणलाई कपड़ाको मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सुझाउ राखेको छ। सो मास्क विभिन्न सामग्रीबाट बनेको तीनपत्रे हुन आवश्यक छ। अनुहार छुने भित्री पत्र कपास (Cotton)को, बीचको पत्र पोलीप्रोपाइलीन (polypropylene)को अनि बाहिरी पत्र भने तरल निरोधक सिंथेटिकले बनेको हुनुपर्दछ।


ध्यान दिनपर्ने कुरा के छ भने स्वास्थ्य कर्मी, कोरोना संक्रमित व्यक्तिगरु अनि कोरोना रोकथाम तथा संक्रमितका स्याहार-सुसारमा लागिपरेका सबैले चाँहि ‘मेडिकल मास्क’कोनै प्रयोग गर्नुपर्नेछ। कपड़ाको मास्कको सझाउ भने जनसाधारणको प्रयोगको निम्ति भनिएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सबैलाई यसबारे अघिबाटै प्रोत्साहित गर्दै आएका हुन्।


धेरै व्यक्तिहरु मास्कले आफ्नो मुख अनि चिउँड़ोमात्र छोप्ने गर्छन्। तिनीहरुको नाक भने खुल्लै छोड़िएको हुन्छ। यसो गर्नाले किञ्चित पनि फाइदा हुनेवाला छैन। मास्क एउटा व्यक्तिगत सुरक्षा उपकरण हो, कुनै फेसन गर्ने पहिरन होईन। यसैले विज्ञहरुद्वारा जारी दिशा निर्देश बमोजिमनै यसको प्रयोग गर्नुपर्नेछ। मास्कले नाक-अनि मुख पूर्ण रुपले छोपेर लगाइएमात्र संक्रमणबाट जोगिन सहयोग मिल्नेछ।


स्मरण रहोस्, सिक्किम राज्यमा गत 10 मईमानै आपदा प्रबंधन अधिनियम 2005 अन्तर्गत मास्क नलगाई सार्वजनिक ठाउँ तथा कार्यस्थलहरुमा जान, सामाजिक दुरी नराख्न अनि सार्वजनिक ठाउँहरुमा थुक्न कानुनी अपराध घोषित भइसकेको छ। पहिलोचोटि सो कानुन उल्लंघन गरेको पाइए रु. 300 अनि दोस्रोचोटि फेरि दोहोर्याए रु. 900 जरिमाना लाग्ने प्रावधान राखिएको छ। घरि-घरि यसको उल्लंघन गरेको पाइए सोही कानुन बमोजिम कड़ाभन्दा कड़ा कारवाही गरिने प्रावधान राखिएको छ। यसका साथै विभिन्न व्यवसायिक संस्थान जस्तै पेट्रोल पम्प, दवाई दोकान लगायत अन्य दोकानहरुले पनि मास्क नभए केही किन्न नपाइने नियम कड़ाइका साथ पालन गरिरहेका छन्।

Leave a Reply