भारतको 73 औं स्वाधीनता दिवस

0
297
Courtesy: The Financial Express

अर्जुन पीयूष
देशभरि खुशियालीको तिहार मनाउने दिन 15 अगस्त। भारतले विश्वमा राष्ट्रिय पहिचान पाएर गर्व र हर्षोन्माद छाएको दिन 15 अगस्त। बेलायती उपनिवेशबाट मुक्ति पाएर, बेलायती साम्राज्यलाई घोक्रेठ्याक लाएर स्वतन्त्र, सार्वभौम राष्ट्रिय हैसियतमा भारतको स्वाधीनता दिवसले 73 वर्ष पार गरिसकेको छ। यसैको स्मरण गर्ने शुभदिवसको रूपमा 15 अगस्तमा देशभरि हर्ष क्ष उल्लाहास मनाइन्छ। तर, यस हर्षोन्मादभित्र केही विषादका रेखाहरू पनि कोरिएका छन्। एउटा सिङ्गो राष्ट्र दुई भागमा विभाजन भएको नियति पनि भारतवासीले भोग्नु परेको छ। तत्कालीन महाभारत वा महादेश चोइटिएर आजको आयतन भएको आधुनिक भारत बनेको दिन पनि 15 अगस्त। बेलायती साम्राज्यका अधिनायकहरूले दक्षिण एशियामा आफ्नो कूटनीतिक बर्चस्व कायम राख्न चतुर्‍याइँपूर्वक महाभारतलाई पाकिस्तान र आधुनिक भारतको सीमाबन्दी गरिदिएर गएका थिए। यो बेलायतीहरूले आफ्नो स्वार्थका निम्ति बाटो निर्माण गरेका थिए। भारतीय समाजको सर्वमानव र सर्वधर्मलाई सम्मान गर्नु विशेषता हो।
आज भारत यस्तो शक्तिराष्ट्रको रूपमा परिणत भइसकेको छ कि विश्वका शक्तिसम्पन्न राष्ट्रहरूले पनि कुनै निर्णय लिनुपर्दा भारतको विचार नलिइ हुँदैन। यो भारत र भारतवासीले निर्माण गरेको शक्ति हो, पूँजी हो। स्वाधीनता पाएपछि अहिलेसम्म थुप्रै परिवर्तनहरू भारतले देखिसकेको छ र देशले समयको मागअनुसार आफूलाई अघि बढाइरहेको पनि छ।

सोचेजस्तो प्रगति भारतले अहिलेसम्म हासिल गर्ननसकेको होला तर प्रगतिको निरन्तर गतिमा भारत अघि बढिरहेको हामी सबैले महसुस गरिरहेका छौं। प्रत्येक भारतीयले राष्ट्रिय स्वाधीनता सङ्ग्रामको पृष्ठभूमि अध्ययन गर्दै नवचेत अँगालेर देशको प्रगतिमा योगदान दिनु जरुरी छ। 15 अगस्त, 1947 मा सिद्धान्तत: भारतले राष्ट्रिय स्वाधीनता हासिल गरे पनि सामाजिक स्वाधीनता र उन्मुक्तिको सवालहरूलाई प्राथमिकता दिँदै देशवासी अघि बढिरहेका छन्। जातीय छुवाछुत, आर्थिक असमानता, सामाजिक वञ्चना आदि समस्याले समाजको तल्लो वर्गलाई राष्ट्रिय स्वाधीनताको अनुभूति गर्ननदिएका अवस्थालाई चिन्तन गर्दै वर्तमानको भारत सरकार यस्ता प्रथाहरू हटाउनमा लागिपरेको देखिन्छ।
देशमा बढिरहेको भ्रष्टाचारलाई जरैबाट उखेलेर फ्याँक्नमा वर्तमान भारत सरकार दृढसङ्कल्पित देखिन्छ। झट्ट हेर्दा भ्रष्टाचार समाप्त भएको देखिँदैन तर प्रतिशतको हिसाबमा हेर्नु हो भने हामी धेरै कम पाउँछौं। स्वाधीनता दिवसले देशका हरेक व्यक्तिका निम्ति विशेष विशेषता राख्दछ। यसै दिन देशका प्रधानमन्त्रीले दिल्लीको लाल किल्लामा राष्ट्रिय झण्डा फहराएका थिए। स्कूलहरूमा सांस्कृतिक कार्यक्रम तथा भाषण प्रतियोगिताहरूको आयोजन गरिन्छ।

देशको आजादीको सङ्घर्षको गाथा निकै वृहत् छ अनि यसको वर्णन संक्षिप्त रूपमा गर्न सम्भव पनि छैन। स्वतन्त्रता सेनानीहरूले देशको स्वाधीनताका लागि जस्तो योगदान दिएका छन्, त्यसलाई कहिल्यै भुल्न सकिँदैन। उनीहरूकै प्रयासका कारण आज हामी स्वाधीन छौं।  स्वतन्त्रता दिवसले केवल ब्रिटिश राजबाट भारतले आजादी पाएको मात्र दर्शाउँदैन यसले त अझ हाम्रो देशको शक्तिलाई पनि उजागार गराउँछ।
भारतले यसपाली 73 औं स्वाधीनता दिवस मनाउन गइरहेछ। देशका प्रधानमन्त्रीले दिल्लीको लाल किल्लामा तिरङ्गा फहराएर देशको विकास र समृद्धिको पक्षमा भाषण दिनेछन्। देशको विकासलाई प्रगतिको मैदानमा ल्याउनका निम्ति देशभक्तिको सोच पनि हुनुपर्ने समयको माग बन्न थालेको छ। हिजोको दिनमा गान्धी, जवाहरलाल नेहरू, सरदार बल्लभ भाइ पटेल, गोविन्द पन्त, सुभाषचन्द्र बोसदेखि लिएर शहीद दुर्गा मल्ल, दलबहादुर थापा, दलवीर सिंह लोहार, रामसिंह ठकुरी जस्ता यस्ता धेरै नाम छन्, जसको उल्लेख नगरी स्वाधीनता दिवस मनाइन्छ भने बेअर्थको हुनजानेछ। यिनै शहीदहरूलाई नमन गर्नका निम्ति हामी स्वाधीनता दिवसमा भेला भएर उत्सव मनाउँछौं।

देशको सरकारले आतङ्कवादमाथि विजयी पाउने प्रयास जारी राखेको छ। सरकारकै कटिबद्धताका कारण देशका विभिन्न भागमा जसरी आतङ्कवादी आक्रममणमा जुन सङ्ख्यामा अबोध नागरिकवर्गको हत्या हुनेगर्थ्यो, त्यसमा कमी आएको कुरालाई हामीले मान्नुपर्छ। देशको विकास चाहने व्यक्तिले आफूले के पाएँ भन्ने कुरालाई तिलाञ्जली दिँदै देशलाई मेरो तर्फबाट के दिनसक्छु भन्ने भावना सिर्जना गर्नसकियो भने देशको समृद्धि स्वतः बढ्दै जानेछ। भारतमा विगत केही वर्षदेखि सरकारको मातहातमा भारतलाई कसरी स्वच्छ र पर्यावरणमय बनाउन सकिन्छ भन्ने सोच अघि आएको देखिन्छ। त्यसैकारण अङ्ग्रेजले छोडेको भारतभन्दा हामी देशवासीले बनाएको भारत अझ सुन्दर देखिन थालेको हो। भारतलाई अझ सुन्दर र झकझक बनाउने सोचलाई अघि बढाउनका लागि भारतका प्रत्येक मनहरू स्वच्छ र निर्मल बन्न जरुरी छ।
आजको भारत निर्माणमा मणिपुरका निरञ्जनसिंह छेत्री, सावित्री-इन्द्रेणी थापाहरूदेखि लिएर कारगील युद्धमा शहादत प्राप्त गर्ने शहीद कप्तान प्रेमसिंह विष्टहरू अनि मरनोपरान्त परमवीर चक्र विजेता शहीद लेण्टिनेण्ट कर्णेल धनसिंह सुब्बा जस्ताहरूलाई पनि हामी बिर्सिन सक्दैनौं। त्यसकारण देशका प्रत्येक जाति, सम्प्रदाय, वर्ण, वर्गका मानिसहरूको उत्सर्गले भारतको मर्यादा र गरिमालाई उच्चता दिएको छ।
प्रत्येक धर्मका अनुयायीहरूले पनि भारतको स्वाधीनतामा त्यतिकै योगदान दिएका छन्। त्यसैकारण भारतले विश्वलाई अनेकतामा एकताको उदाहरण प्रस्तुत गरेको छ, अनि यसैमा विश्व कायल पनि छ। सर्वधर्म, सर्वसम्प्रदाय तथा सर्ववर्गका निम्ति स्वाधीनता दिवस महत्वपूर्ण छ। त्यसैकारण भारत कुनै एक जातिका निम्ति नभएर सर्वभारतीयका निम्ति कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको रक्षा गरे झैं भारतमय शिरले सबैलाई अँगालेर सुरक्षा दिन सक्षम बनेको हामी पाउँछोैं।

यता सिक्किम पनि भारतको अङ्ग राज्य भएका कारण अनि आफू निकै कान्छो भए पनि सिक्किमले आफूलाई पूर्ण रूपमा भारतीयकरण गर्दै देशको झण्डा, संविधानलाई आस्थाको रूपमा राख्दै स्वाधीनता दिवस मनाउन थालेको चार दशक नाघिसक्यो। यस अवधिभित्र सिक्किमका धेरै वीरयोद्धाहरूले कारगील युद्धमा हाफूलाई होमेका छन्। देशको विकासमा सिक्किमको नाम आजको दिनमा सम्मानपूर्वक लिनेगरिन्छ। यही राज्यमा आ-आफ्नो समयमा बनेका मुख्यमन्त्री लगायत राज्य प्रशासनले स्वाधीनता दिवस बडो उत्साहका साथ मनाउँदै आइरहेका छन्। सिक्किम एक पहाडी राज्य भएका कारण यहाँ बसोबास गर्ने प्रत्येक जातिहरू सोझा र इमानदार हुन्छन्, कुनै छलकपट जान्दैनन्। त्यसैकारण उनीहरूको मन निर्मल हुनेगर्छ। यहाँ जब-जब स्वाधीनता दिवस नजिकिँदै जान्छ तब-तब फूटबल खेलको ज्वरो पनि बढ्दै जान्छ। प्रत्येक समष्टिका खेलाडीहरू आ-आफ्ना गाउँमा रहेका क्लब वा संस्थासँग जोडिएका हुन्छन् र उनीहरूले खेलमा भाग लिनेगर्छन्।

यसै सन्दर्भमा  पाकिम सन्त जेभिर्यस स्कूलको खेल मैदानमा 73 औं स्वाधीनता दिवस समारोह फूटबल प्रतियोगिता सम्पन्न भयो जसको फाइनल खेल आज हुनेछ। यस प्रतियोगितामा विजेता हुनेले 1 लाख 20 हजार अनि उपविजेताले 80 हजार रुपियाँ नगद पुरस्कार पाउनेने घोषणा अगावै भइसकेको छ। यसै गरी नाथाङ माछोङ समष्टिअन्तर्गत पारखामा भइरहेको 73 औं स्वाधीनता दिवस समारोह टाइगर फाइभ खुल्ला फूटबल प्रतियागिता सम्पन्न भइरहेछ। यसै क्रममा उत्तर सिक्किमको मङ्गनस्थित खेल मैदानमा 73 औं स्वाधीनता दिवस पुरुष खुल्ला विधायक कप प्रतियागिता सम्पन्न भइरहेको छ। यसरी पनि मानिसहरूले स्वाधीनता दिवस उत्सव मनाइरहेका छन्।

सिक्किममा राज्य स्तरमा राजधानीस्थित गान्तोकमा पाल्जर स्टेडियममा विभिन्न कार्यक्रमसहित भारतको झण्डालाई पहराउनेछन् राज्यका मुख्यमन्त्रीले। यसै गरी समष्टि स्तर र जिल्ला स्तरमा नाम्ची, पाकिम, माङ्शीला, मङ्गन, फुदुङ, गेजिङ, बर्मेक आदि आदि स्थानमा पनि स्वाधीनता दिवस भव्यताका साथ मनाइन्छ। समग्रमा भन्नुपर्दा हाम्रा वीर सपुत तथा वीरङ्गानाहरूको बलिदान र उत्सर्गद्वारा प्राप्त भएको स्वाधीनता दिवसमा हामीले पनि दृढसङ्कल्प गर्नुपर्छ कि भारतको ताज कहिल्यै झुक्नु हुँदैन अनि देशको अखण्डातामाथि कुनै आँच आउनु हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here