प्रेस सल्लाहकारको पत्रकारहरूसित भेटघाट सन्दर्भः
पत्रकार र साहित्यकार समाजका दृष्टि र दिशा हुन् ः सी. पी. शर्मा

अर्जुन पीयूष

तारिक 2 अगस्त, 2019 को दिन राज्यका मुख्यमन्त्री पी. एस. तामाङ (गोले)-को कार्यालय (सम्मान भवन) मा मुख्यमन्त्रीका प्रेस एवं मीडिया सल्लाहकार सी. पी. शर्माको मुख्य आतिथ्यमा राज्यका सम्पूर्ण प्रेस तथा सञ्चार माध्यमसँग संलग्न पत्रकारगणको एक संयुक्त भेटघाट कार्यक्रम सम्पन्न भएको थियो। सो भेटघाटमा राज्यका प्रतिनिधि पत्रकारहरूले आ-आफ्ना समस्याहरू सी. पी. शर्मासमक्ष राख्ने कार्य बडो विनम्रताका साथ गरेको देख्दा निकै हर्ष लागेको छ।


वर्तमान सरकारका प्रेस सल्लाहकारका सम्बन्धमा सामान्य रूपमा जानकारी दिनुपर्दा उनीसित पहिले एक वरिष्ठ साहित्यकारका रूपमा परिचय भएको हो। उनले आफ्नो समयमा भोगेका र गरेका समस्याहरूको लेखाजोखा यहाँ राख्नु हो भने निकै कुरा लेख्नुपर्ने हुन्छ। तर सिक्किम क्रान्तिकारी मोर्चाको सरकार सिक्किममा स्थापित भएपछि सम्भवतः पत्रकारहरूसँगको यो पहिलो भेटघाट थियो, जसलाई सराहनीय कदम मान्नुपर्छ।  यसलाई सरकारको पत्रकारहरूलाई विश्वासमा लिने पहलको रूपमा पनि लिन सकिन्छ। कुनै पनि कार्यलाई कार्यान्वित रूप दिनभन्दा पहिले त्यो पक्ष, जो सम्बन्धित कार्यसित संलग्न छ, उसलाई विश्वासमा लिएर गरेको कार्यले सही परिणाम दिनमा सहयोग प्रदान गर्छ। सम्भवतः सरकारले गर्न चाहेको कुरा पनि यही हुनसक्छ।


सरकारमा आउनभन्दा पहिले सिक्किम क्रान्तिकारी मोर्चाले चुनावी वातावरणमा आफ्नो पार्टीको मेनुफेस्टोमा पत्रकारिता सम्बन्धमा सकारात्मक कुराहरू राखेका कारण पनि यो भेटघाट समयसापेक्ष थियो। हिजोको काजी हुँदै भण्डारी, चामलिङको सरकारसम्म आइपुग्दा पत्रकारिताको क्षेत्रले फस्टाउने र मौलाउने अवसरहरू नपाएको भने होइन तर आज डिजिटल मीडियोको बर्चस्व बढिरहेको समयमा पुरानो ढाँचामा पत्रकारिता चल्न सम्भव छैन भन्ने कुरालाई पनि हामीले आत्मसात गर्नैपर्ने हुन्छ। पत्रकारहरूले आ-आफ्ना समस्याहरू उजागार गर्दै सरकार पक्षले सकारात्मक पहल गर्ने पनि अपील गरे।


सिक्किमको पत्रकारिता क्षेत्र आज त्यसै ह्वात्तै मौलाएको भने होइन। यो मौलाइमा पूर्व सरकार जस्तै भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको शासनकाल अनि पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङको शासनकालमा पनि पत्रकारिताले उत्तरोतर प्रगति गरेको कुरा यहाँ स्मरण गर्नुपर्ने हुन्छ। किटानै गरेर भन्नुपर्दा नरबहादुर भण्डारीको शासनकालमा दैनिक पत्रको जग बसेको मान्न सकिन्छ। 1993 सालदेखि सुनचरी दैनिक प्रकाशनमा आएको हो अनि यसको पहल भण्डारी शासनकालमा भएको हो। सुनचरीको प्रकाशन सिलगढीबाट भएको भएता पनि त्यसको स्रोत सिक्किम थियो। त्यसकारण पूर्व सरकारहरूले पत्रकारिताको क्षेत्रमा केही गरेनन् भन्न सायद नमिल्ला। सुनचरी दैनिकले जसरी प्रोत्साहन र माया पायो त्यो माया आजका दैनिकहरूले पाएका छन् कि छैनन् त्यसप्रति सकारात्मक खोजी पनि समयको माग हो। आज सिक्किममा जति दैनिक पत्रहरू प्रकाशन हुँदैआइरहेछन् अथवा भनौं नयाँ पत्रकारहरूको जन्म भएको छ, त्यसको अस्तित्व खोज्दै जानु हो भने सुनचरी दैनिकलाई भुल्न सकिँदैन। त्यसरी नै पवन कुमार चामलिङको सरकारमा हाम्रो प्रजाशक्तिको प्रादुर्भाव भएको मान्न सकिन्छ। यस दैनिकले पनि राज्यमा धेरै नवीन पत्रकारहरूलाई मैदानमा उतार्‍यो अनि तिनै पत्रकारहरू आज स्थापित भएका छन्। एउटा कुरा यहाँ स्पष्टसँग राख्नु हो भने भण्डारी भनौं अथवा चामलिङको सरकारले पनि आफ्नो शासनको पूर्वार्द्धमा पत्रकारितालाई प्रोत्साहित गर्ने कार्य गरेकै हो। राज्यको सूचना तथा जनसम्पर्क विभागको तर्फबाट राज्यका मौलाउँदा पत्रकारहरूलाई राज्य सरकारको तर्फबाट अनुदान दिने कार्य पवन कुमार चामलिङको सरकारमा गरेको हो। त्यसर्थ, पूर्व सरकारहरूले पनि आफ्नो समयमा केही न केही अवश्यै गरेका छन्। पत्रकारहरूका निम्ति प्रेस भवन (आवास) बनाइदिने घोषणा पनि चामलिङकै सरकारमा भएको हो। यी दुवै सरकार पनि आफ्नो पूर्वार्द्धको समयमा पत्रकारिता सम्बन्धमा लचिला थिए तर समयले पाँच वेत खाँदानखाँदै सकारात्मक पक्षहरू हराउँदै नकारात्मक पक्षहरू बढ्दै गएका हुन्।


माथि उल्लेख गरेका कारणहरूबाट के थाहा लाग्छ भने प्रारम्भमा कुनै पनि सरकार सकारात्मक देखिन्छ तर समयले उमेर खाँदै गएपछि पत्रकारिता सम्बन्धमा उनीहरू उदासीन बन्दै जान्छन्। त्यसकारण यहाँ उल्लेख गर्न मन लाग्छ कि सिक्किम क्रान्तिकारी मोर्चाको सरकारले लिएका पहलहरू सकारात्मक छन् तर यो सरकारको आयु बढ्दै जाँदा पत्रकारिता सम्बन्धमा यो सरकारको सोच अहिलेकै विन्दुमा रहोस्।
सरकारसँग सामानजस्य राखेर पत्रकारहरूका आम समस्याहरू सरकारसम्म पुर्‍याउने कार्य प्रेस क्लब अफ् सिक्किमका प्रतिनिधिवर्गले गर्छन् भन्ने सोच राखिन्छ। भाषालाई क्लिष्ट नबनाई यहाँ केही कुरा राख्नुपर्ने हुन्छ कि राज्यमा जुनबेला न त दैनिकहरू थिए न त आज झैं डिजिटल मीडियाहरू थिए, तिनताकको समयमा साप्ताहिक पत्रहरूका माध्यमबाट सरकार पक्षका सूचनाहरू जनतासम्म अनि जनताका समस्याहरू सरकारको पहुँचमा पुर्‍याउने गरिन्थ्यो। त्यो समयमा केही पत्रकारहरू सोझा र इमानदार थिए तर उनीहरू छक्का-पञ्जा जान्दैन थिए। तिनमा केही पत्रकारहरू आजको दिनमा पनि ओझेलमा परेका छन्, ती पत्रकारहरू सूचना तथा जनसम्पर्क विभागका नजरमा पनि नहोलान् अथवा प्रेस क्लब अफ् सिक्किमका नजरमा पनि नपरेका होलान्। ती पत्रकारहरूको खोजी गर्ने कार्य प्रेस क्लबले लिए उत्तम हुनजान्छ। राज्यको विकासमा ती पत्रकारहरूको भूमिका अहम् थियो भन्ने लाग्छ।


यसै क्रममा अर्को विन्दु राख्नु पर्दा सिक्किम आज विश्वमा भारतको एक अब्बल राज्यको रूपमा परिचित भइसकेको छ। यसमा प्रचार प्रसारको जिम्मा लिएर जो-जो पत्रकारहरूले भूमिका अख्तियार गरेका छन्, ती सम्मानित र आदरणीय पत्रकारहरू हुन् भन्ने लागेको छ। तर सिक्किमको पत्रकारिताको सम्बन्ध अन्य राज्यको पत्रकारितासँग सुललित रूपमा अघि बढिरहेको देखिँदैन। यसलाई नकारात्मक रूपमा नलिएर सिक्किमको पत्रकारिताले अन्य ठाउँ जस्तै सिक्किम-दार्जीलिङ, सिक्किम-कोलकाता, सिक्किम-असम, सिक्किम-काठमाडौं यहाँसम्म कि सिक्किम-दिल्लीसँग कसरी सेतुको रूपमा परिमार्जित बनाउन सकिन्छ। यस सम्बन्धमा चिन्तन-मनन गर्न जरुरी देखिन्छ।


प्रेस क्लब अफ् सिक्किम भनेको केवल राजधानी गान्तोक मात्र होइन। यो पत्रकारहरूको सङ्गठन राज्यको छाता सङ्गठन भएका नातामा राज्यका चारै जिल्लाका पत्रकारहरूसँग कसरी सम्बन्धमा विकास गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान दिनु पर्नेछ। कहिलेकाहीँ गैर पत्रकारहरू पनि यस सङ्गठनसित जोडिएका छन् भन्ने मौखिक कुराहरू सुन्न पाइन्छ। यदि यस्ता कुराहरू सत्य हुन् भने  यसमा सुधारको आवश्यकता देखिन्छ। किनभने अन्य गैर पत्रकारहरूका कारण राज्यको वरिष्ठ सङ्गठनले कुनै अघटनको आरोप खेप्न नपरोस्।


2011-13 मा प्रेस क्लब अफ् सिक्किमको नेतृत्वमा पत्रकारिता सम्बन्धमा ‘संवाहक’ नामक एक पुस्तक प्रकाशित भएको थियो। त्यहाँदेखि यता कुनै त्यस्तो कार्य भए झैं लाग्दैन। किन? भन्ने प्रश्न गर्नु सायद स्वाभाविक जँच्छ। प्रेस क्लब अफ् सिक्किमले कम्तीमा तीन महिनामा एउटा जर्नल प्रकाशित गर्न सक्नुपर्ने हो। यदि यो सम्भव छैन भने वर्षमा कम्तीमा एकपल्ट पत्रकारिता सम्बन्धमा कुनै पुस्तक प्रकाशित गर्नसक्छ भन्ने मैले विश्वास राखेको छु। यसो हुनसके राज्यमा मौलाउँदै गरेका पत्रकारहरूले आफ्ना आम कुराहरू राख्न सक्ने थिए अनि वरिष्ठ पत्रकारहरूले आफ्ना अनुभवहरू नयाँ पत्रकारहरूमाझ साझा गर्नसक्थे भन्ने मेरो निवेदन मात्र हो। राज्यमा डिजिटल मीडिया तथा सञ्चार माध्यहरूको सङ्ख्या बढिरहेको स्थिति आजको हो। सही रूपमा समाचार समप्रसारण गर्ने अनि पत्रकारिताको धर्मलाई निभाउने पत्रकारहरूलाई प्रेस क्लब अफ् सिक्किममा प्रवेश दिएर आफूलाई अझ मजबुत बनाउने कार्यतर्फ अग्रसर बनोस् वर्तमानको प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समिति।


सिक्किमको मीडिया क्षेत्रमा नयाँ पत्रकारहरूको प्रवेशलाई सराहनीय रूपमा लिनुपर्छ। तर उनीहरूको भनाइलाई अघि सारेर भन्नु पर्दा उनीहरूले पत्रकारिता सम्बन्धमा ज्ञान र जानकारी पाउने स्थान खोजिरहेका छन् तर उचित ठाउँ पाएका छैनन्। त्यसकारण यी कुरालाई प्रमुखता दिँदै प्रेस क्लब अफ् सिक्किम तथा राज्य पक्षले यसतर्फ कुनै पहल गर्नुपर्छ कि भन्ने लागेको छ।


माथि उल्लेख गरिका कुराहरूलाई जोड्दै अब केही कुरा पत्रकारहरूका केही कमीहरूमाथि पनि दृष्टि राख्ने प्रयास गर्नु सायद उत्तम हुनेछ। राज्यका मुख्यमन्त्री पी. एस. तामाङका प्रेस एवं मीडिया सल्लाहकार सी. पी. शर्मासँगको भेटघाटमा केही दैनिक तथा साप्ताहिकका सम्पादक तथा प्रकाशकहरूले आ-आफ्ना समस्याहरू राखे। धेरै समस्याहरू सूचना तथा जनसम्पर्क विभागसँग सम्पर्कित थिए। केही दैनिकहरूले राखेका समस्याहरू उचित पनि थिए।  व्यक्त गरिएका समस्याहरूमाथि सरकारले कस्तो दृष्टिकोण राख्ने हो, ती समय सँगसँगै देखा पर्नेछन्। यसका साथै जहाँसम्म साप्ताहिकहरूले राखेका समस्याहरू छन्, यसमा के भन्न सकिन्छ भने हिजोको दिनमा सिक्किममा जनतासम्म सूचना पुर्‍याउने कार्यमा साप्ताहिकहरूको ठूलो भूमिका थियो, यस कुरालाई भुल्न सकिँदैन तर आजको दिनमा छातीमा हात राखेर भन्नु पर्दा एकाध साप्ताहिकहरूबाहेक धेरै साप्ताहिकहरू बजारमा देखिँदैनन्। कहीँ कतै प्रतिस्पर्धामा पनि आएका छैनन्। आजको डिजिटल युगमा उनीहरूको पनि केही न केही भूमिका हुनुपर्छ भन्ने लाग्छ। समयको वेगसँगै आफूलाई उभ्याउनसक्ने साप्ताहिकहरू सायद आज पनि उभिन सक्षम छन्। सिक्किममा मात्र नभएर देशभरिका धेरै साप्ताहिक मात्र नभएर दैनिकको अवस्थासमेत चिन्ताजनक देखिन्छ। यस्तोमा सिक्किमका साप्ताहिकहरूले कम्तीमा सामाजिक, आर्थिक, विभागीय काम कार्वाहीहरूलाई सम्पादक, संवाददाताको दृष्टिमा विश्लेषणपरक रूपमा पस्किनसके सरकारसमेत केही सोच्न बाध्य हुनेछ भन्ने लागेको छ। छन्, साप्ताहिक मात्र नभएर दैनिकहरूका निम्ति पनि यस्ता धेरै चुनौती छन्, तर चुनौतीहरूलाई आत्मसात गर्दै सामाजिक रूपमा मुखरित बन्दै पत्रकारिताको साँचो धर्मलाई अघि बढाउनसके  साप्ताहिकहरू पनि सिक्किममा अहम् भूमिका निभाउन सक्षम छन्। आम जनता र समाजसँग सम्पर्कित हुननसके पत्रकारिता मात्र होइन धेरै कुराहरू अस्त-व्यस्त हुने कुरालाई नकार्न सकिन्न। यस्ता कुराहरूलाई पत्रकार बन्धुहरूले अन्यथा लिने छैनन्, यो मेरो विनम्र अनुरोध हो।


अब आऊँ, सी. पी. शर्माले उल्लेख गरेका सन्दर्भहरूका सन्दर्भमा। उनले आफ्नो सम्बोधनको पहिलो क्रममा पत्रकारहरूलाई आफूले दृष्टिका रूपमा हेर्ने गरेको बताए। उनका दृष्टिमा पत्रकारहरू समाजका दृष्टि हुन्। यसै गरी साहित्यकारहरू दिशा हुन्। सही हो, दृष्टिलाई पनि दिशा प्राप्त भएन भने त्यो भ्रमित हुन्छ। यो कुरा शर्मा राम्ररी बुझ्छन् किनभने उनी वरिष्ठ साहित्यकार पनि हुन्। आफू सुनचरीसँग संलग्न भएका बेला उनलाई एक सफल व्यङ्ग्यकार तथा साहित्यकारको रूपमा चिनिएको हो। यसर्थमा उनको मर्मलाई बुझ्न त्यति गाह्रो पर्दैन। आजको अवस्थामा उनी सरकारको एउटा गरिमामय पदमा पुगेका छन् तर समाजलाई दिशा दिने क्रममा उनी पछि पर्न सक्दैनन्। यसकारण यहाँ एउटा कुरा राख्नुपर्ने हुन्छ कि उनी स्वयं एक भुक्तभोगी साहित्यकार भएका नातामा आगामी दिनहरूमा साहित्यकारहरूलाई पनि एक निश्चित दिशा दिने क्रममा अघि बढ्नेछन् अनि सरकारको पटलअघि साहित्यकारहरूका केही समाधानयुक्त समस्याहरू पनि राख्नेछन्। सिक्किममा नवोदित साहित्यकार मात्र नभएर धेरै वरिष्ठ साहित्यकारहरू पनि आफ्ना कृतिहरू स्वयं प्रकाशित गर्न सक्षम छैनन्। यी कुराहरूलाई ध्यानमा राखेर केवल समाजलाई चाहिने अर्थात् समाज हितका कुराहरूलाई उजागार गर्ने कृतिहरूको समीक्षा गरी प्रकाशन गर्नसके उत्तम हुनेछ। विगत समयमा हामीले के पनि देखेका छौं भने केही व्यक्तिका पुस्तकहरू क्रमागत प्रकाशित भइरहेका थिए भने केही व्यक्तिका कृतिहरूका पाण्डुलिपिहरू कि त हराए कि त नष्ट भए। त्यसकारण अब त्यस्तो नहोस् भन्नेतर्फ सोच्न जरुरी छ। अर्को कुरा सरकारमा अहम र ठूला पदहरूमा हुनेहरूका कृतिहरू प्रकाशित हुनेगर्छन् र उनीहरूले आफ्नो बल र शक्तिमा प्रचार-प्रसार पनि गर्छन् भने तथाकथित रूपमा साना ठानिएका अथवा प्रचार-प्रसार गर्ने हविगत नभएका तर कृतिहरू समाजपरक र गरिमायुक्त हुँदा पनि तीहरूलाई मान्यता नदिने चलन बढ्दो रूपमा देखिन्छ। व्यक्तिगत रूपमा कसैले आफूलाई कसरी स्थापित गरिरहेछ, त्यसमाथि भन्नु केही छैन तर सरकारी रूपमा कृतिहरूलाई प्रकाशित गरिन्छ भने त्यसको सही निर्क्योल र समीक्षा हुन जरुरी छ भन्ने नम्र निवेदन मात्र हो यो। यदि यी कार्यहरूलाई निदान दिनका निम्ति साहित्यहरूको टोली बनाउने बारेमा सोचिन्छ भने त्यो टोली राजधानीगामी नहोस्। त्यो टोलीमा सिक्किमका चारै जिल्लाका प्रतिनिधि रहन आवश्यक देखिन्छ।

प्रेस सल्लाहकार सी. पी. शर्मा स्वयं एक वरिष्ठ साहित्यकार हुनका साथै समाजका सानाभन्दा साना बुँदाहरूभित्र पसेर समीक्षा गर्ने व्यक्ति भएका कारण आगामी दिनहरूमा पत्रकारहरूका कुराहरूलाई सरकारसमक्ष पुर्‍याएर सकारात्मक परिणाम आउनेछ भन्ने विश्वास सबैले राखेका छन्। परिवर्तनको नयाँ नारा लिएर आएको सरकारले पत्रकारिता क्षेत्रमा पनि नयाँ परिवर्तन ल्याउनेछ भन्ने आशा राख्न सकिन्छ। यसका साथै साहित्यकारहरूलाई दिशा दिने समूहका रूपमा हेर्ने सी. पी. शर्माज्यूले पनि सही अनि सकारात्मक पक्षलाई अघि ल्याउनेछन् भन्ने आशा राखौं।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here