गान्तोक, 01 जूनः नेपाली साहित्य परिषद् (नेसाप)-द्वारा साहित्यकार तथा वरिष्ठ कलाकार टङ्क सुवेदीको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। पिता कर्णबहादुर सुवेदी तथा माता गौरीमाया सुवेदीका सुपुत्र टङ्क सुवेदीको 3 अक्टोबर, 1973-मा माखास्थित सिम्बेल, 7 माइलमा जन्म भएको थियो। उनको गत 31 मई, 2020 को दिन सिङ्ताम अस्पतालमा उपचाराधीन रहँदा देहान्त भएको हो।


स्मरण रहोस्, टङ्क सुवेदी सिक्किमको शीर्षस्थ संस्था नेपाली साहित्य परिषद्का आजीवन सदस्य रहनका साथै 2010-देखि 2012 सम्म कार्यकारिणी सदस्यका रूपमा पनि रहेका थिए। नब्बेको दशकमा नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति चलेको चरम आन्दोलनकालमा उनको सक्रिय भूमिका रहेको थियो भने 1995-देखि 2003-सम्म नेसापको कार्यालयमा अंशकालीन कर्मचारीको रूपमा पनि रहेका थिए।


साहित्यको क्षेत्रमा टङ्क सुवेदीको अतुलनीय भूमिका रहेको छ। उनको कविता कृति ‘बंकरभित्र म असहाय’ (1993) छ भने सम्पादनको क्षेत्रमा पनि सक्रिय भूमिका अख्तियार गर्दै ‘दिग्दर्शन’ साहित्यिक पत्रिका तथा ‘प्रयास’ साहित्य पत्रिका आदि रहेका छन्। उनी एकजना रङ्गमञ्चीय कलाकार पनि हुन्। उनले थुप्रै सड़क नाटक लगायत पूर्णाङ्गी नाटकहरूमा पनि आफ्नो अभिनय प्रतिभा देखाएका छन्।  


प्रतिभाशाली साहित्यकार तथा कलाकार सुवेदीको असामयिक निधनप्रति नेपाली साहित्य परिषद्ले भावभिनी श्रद्धाञ्जली अर्पण गर्नका साथै यस दुखद घड़ीमा ईश्वरले आत्मशक्ति प्रदान गरून् भन्ने कामना गरेको नेसापका प्रचार-प्रसार सचिव अर्जुन पीयूषले बताएका छन्।

By Arjun Piyush.

Views/Opinions expressed in the article or write up is purely of the author/writer and not of The Sikkim Chronicle, including statistical data, which was provided by the writer. For any queries or contradictions, the author can be contacted in his/her email id.

Leave a Reply