नेपालीहरूका ध्रुवतारा भानु!

नेपालीहरूका ध्रुवतारा भानु!

“घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो!”

नेपाली साहित्य जगतका एक सुपरिचित नाम हुन्- ‘आदिकवि भानुभक्त आचार्य’ । नेपालका तनहुँ जिल्लामा जन्म लिएर तिनले पहिले आफ्नै घरमा हजुरबुवाबाट संस्कृतको शिक्षा लिए अनि पछि भारतको बनारसमा गइ उच्च शिक्षा हासिल गरे। एउटा प्रसंगमा घाँसीबाट प्रेरणा पाएर तिनले रामायणको संस्कृतबाट नेपाली भाषामा अनुवाद गरे। तिनले अनेक फुटकर कविता र खण्डकाव्य प्रश्नोत्तरी, भक्तमाला, रामगीता, बधुशिक्षा पनि लेखे। 

भारतवर्ष एक धर्मनिर्पेक्ष देश भएकोले हाम्रो देशमा अनेकौं धर्महरू छन्। सबै इश्वरनिष्टाहरूका आ-आफ्नै धर्मग्रन्थ हुन्छन्। हिन्दुहरुको रामायण, महाभारत, गीता, वेद, पुराण, बौद्धको- त्रिपिटका, सिखहरूको- ग्रन्थसाहाब आदि। 

संस्कृत भाषामा लिखित प्राचीनकालको एउटा आदर्शवादी महाकाव्य हो रामायण। महाकाव्यमा श्रीरामको जीवनको वर्णन गरिएको छ। संस्कृत रामायणमा 7 काण्ड तथा 4000 श्लोक छन्। रामायण सम्भाव्य तेस्रो शताब्दीमा लेखिएको अनुमान गरिएको छ। रामायण विभिन्न भारतीय भाषाहरूमा पनि अनुवाद भएका छन्। रामायण अनुसार श्री राम दशरथ राजाका ज्येष्ठ पुत्र एवं अयोध्याका राजकुमार थिए जो भगवान विष्णुको सातौं अवतार हुन् भन्ने हिन्दूहरूको विश्वास छ। रामकी पत्नी सीता मिथिला जनकपुरका राजा जनककी पुत्री थिइन्। सर्वगुण सम्पन्न जोडी सिताराम हाम्रो नेपाली समाजमा भगवान र भगवतीको रुपमा मान्य छन्। 

नेपाली समाजमा थोरैले मात्र संस्कृत बुझ्थे, अरुमा त्यसको ज्ञान थिएन। श्रीरामका साहसिक कार्यहरुबाट प्रभावित कवि भानुभक्त को ह्रदयमा नेपाली भाषीहरुमा पनि राम अनि सीताको विषयमा ज्ञान हुनु अनिवार्य छ भन्ने भावना थियो। कुनै एक दिन एउटा दरिद्र घाँसीसँगको भेट-वार्ता पश्चात खूबै प्रेरित भई उनले बाँचुन्जेल यस संसारमा सत्कर्म गर्ने निश्चय गरे। त्यसताक अधिकांशले नबुझ्ने जटिल संस्कृत भाषाका कृतिलाई तिनले सरल र सरस नेपाली भाषामा लेखिदिए अनि राम र सितालाई नेपालीभाषीहरुमा चिनाई दिए।

भानुभक्तले आफ्नो रामायण मुख्यगरी शार्दूलविक्रीडित छन्दमा लेखेका छन्। भानुभक्तलाई आदिकवि भनेर मानिन्छ। उनी पूर्व केही कविहरु भएता पनि शुद्ध, सरल र मीठो भाषा प्रयोग गरेर कवितामा सबैलाई मुग्ध पार्ने कवि भानुभक्तनै भएकोले कवि भानुभक्त आदिकवि भनेर मान्य भएका हुन्। भानुभक्तीय 7 काण्ड रामायणको प्रथम काण्ड- बालकाण्डमा जम्मा 556 श्लोकहरू छन्। ती सबैनै शार्दूलविक्रीडित छन्दमा लेखिएका छन्। 260 देखि 264 सम्म चार श्लोक इन्द्रवज्रा छन्दमा छन्।

बालकाण्डका प्रथम दुई श्लोक सम्पूर्ण नेपालीको मुखैमा झुण्डिएको श्लोक हो।

“एक् दिन नारद सत्य लोक् पुगिगया 

लोक् को गरूँ हित् भनी। 

ब्रह्मा ताहिँ थिया पर्या चरणमा 

खुशी गराया पनि।”

राजा दशरथ र उनका तीनवटै रानी कौशल्या, कैकयी र सुमित्रा बाट 4 छोराहरूको जन्म कथा, महार्षि शिष्ट द्वारा नामकरण विश्वमित्र ऋषिद्वारा राम र  लक्ष्मणलाई उनका आश्रममा लगेर शिक्षादान, त्यही आश्रममा रहँदा सुवाहु, ताढका मारिचहरूका संहारका कथा, गौतमकी स्त्रीलाई शिलाको रुपबाट उद्धार गरिएको कथा, गंगापारि जनकपुर गएर राजा जनकको पुरानो 500 जवानहरुले पनि उचाल्न नसक्ने धनु उचालेर ताँदो चढाउदा भाँची सिता रामको विवाह साथै अन्य तीन भाईहरूको पनि विवाह भएको कथा साथै अयोध्या फर्केर गएको कथाहरू वृतान्त छ।

“हे नारद! सब पाप हनकान त रामायणैले सरी।

अर्को मुख्य उपाय छैन सबैको हित यै छ अमृत सरी।।

 जसले ज्ञानकन गर्दछन् त ति सहज संसार पार तर्द्छन्।

 कालैको पनि ताप हुँदैन भय सब् तिनका सहज तर्दछन्।।

जो एकचित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या 

जीवनमुक्त तिनै त हुन नर भई इश्वर सरीका बन्या।।”

भानुभक्तीय रामायणमा भानुभक्तले कालजयी श्लोकहरु रचना गरेका छन्।

सरल भाषामा, सुन्दर शैली एवं सर्वसाधारणको निम्ति लयात्मक छन्दको प्रयोग द्वारा तत्व ज्ञान, आत्मज्ञान र जीवन दर्शनलाई अभिव्यक्ति दिएका छन्। जसरी पूर्वबाट सूर्य उदाउँदा संसार उज्यालो बन्छ, त्यसरी नै नेपाली संसारमा भानु उदाएर नेपाली भाषा साहित्य र समाजलाई झलमल्ल पारेका छन्। नेपालीमा रामायणको रचना गर्नुको उद्देश्य पनि जातिको विकास गर्नु थियो। आज नेपाली भाषा-साहित्यको जुन उत्तरोत्तर उन्नति भइरहेको छ त्यसको मूल श्रेय भानुभक्तलाई जान्छ। भानु आफू अस्त भएर गएतापनि जगतलाई आफ्नो प्रकाश दिइरहेका छन्। यसैले उनी हामीमाझ विद्यमान छन्‌।

स्वर्गीय पुष्कर शमशेरको भनाइअनुसार भानुभक्तले थुनुवामा परेको अवस्थामा रामायण र मृत्युशैयामा रामगीता अनुवाद नगरिदिएको भए अनि मोतीराम भट्टले भानुभक्तको जिवनी लेखी सक्दो प्रशंसा गरेर उनको रामायण प्रचार नगरिदिएको भए सम्भवत: हाम्रो भाव आज हिन्दीमा प्रकट हुन्थ्यो अनि जातीय गौरव लुप्त हुने थियो।

मिठो भाषा शैली, सुन्दर छन्द अलङ्कार र जातीय भाव-रसले भरिएको भानुभक्तीय रामायण अनुवाद मात्र नभई अति मौलिक काव्य बनेको छ। सो रामायणकै कारण आधुनिक नेपाली कविता र अन्य साहित्य लेखनको आरम्भ भएको हो भन्दा अत्युक्ति हुने छैन। यसैले आदिकवि भानुभक्तलाई स्मरण गर्दै हामी सम्पूर्ण नेपाली भाषीको तर्फबाट उहाँलाई कोटी-कोटी प्रणाम।

लुबिना  कृतिका दाहाल 

The author, Kritika Dahal, is a modern-day performer poet, writer, free thinker. She performs spoken word at the national and international level.
She has authored आँखा, a collection of short poems, published in the year 2016 and is currently pursuing a master’s degree in the English language.

Disclaimer: Views/Opinions expressed in the article or write up is purely of the author or writer and not of the Sikkim Chronicle. For any queries or contradictions, the author can be contacted in his/her email id.