ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष अवसरमा

ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष अवसरमा

ममा एउटा कमजोरी छ, ममा जात छैन ः भण्डारी

उल्लेख्य भनाइ सिक्किमका पूर्व मुख्यमन्त्री तथा नेपाली भाषा आन्दोलनको बागडोर सम्हालेर संवैधानिक मान्यता दिलाउनमा सक्षम नरबहादुर भण्डारीको हो। नेपाली समाजमा आज जसरी जात र थरको पछि लाग्ने रोग लागेको देखिन्छ, त्यो भण्डारीले त्यो समयमै बुझिसकेका थिए। जात र थरको पछि लागे जाति हराउँदै जाने कुरा उनले त्यसैताका बुझिसकेका थिए।

त्यसकारण उनले एउटा सभामा भनेका थिए-‘सिक्किममा कसैले पनि जातको कुरा नगर्नु, यहाँ सद्भावना कायम हुनुपर्छ, सबैले समान रूपले न्याय पाउनुपर्छ।’ भण्डारी जातवादी थिएनन् तर जातिलाई माया गर्ने, उच्च विचारकहरूको सम्मान गर्ने व्यक्ति थिए। जाति र माटोका लागि कस्तै परिस्थितिसँग जुझ्ने ल्याकत राख्थे उनी।

भण्डारी भाषा मान्यताका सन्दर्भमा कस्तो विचार राख्थे भन्ने कुरा सिक्किमका वरिष्ठ पत्रकार सुवास दीपकद्वारा सम्पादित एवं प्रकाशित ‘विचार’-को रजत जयन्ती विशेषङ्क अङ्कमा पाउन सकिन्छ। उक्त रजत जयन्ती विशेषङ्क ‘विचार’-मा विभिन्न समयमा प्रकाशित समाचार तथा विचारहरू राखिएका छन्। वर्ष-3, अङ्क-53, अक्टोबर 7-14, 1983-मा भण्डारीका सम्बन्धमा यस्तो समाचार प्रकाशित छ-

….मुख्यमन्त्री नरबहादुर भण्डारीले तीन दिने सत्याग्रहको समापनको बेला नेपाली भाषाले आठौं अनुसूचीका जम्मै शर्तहरू पूरा गर्छ र केन्द्र सरकारले यस मागलाई स्वीकार गर्नेछ भनी मलाई पूर्णाशा छ नत्र भने आठौं अनुसूची राख्ने कुनै आवश्यकता छैन भनी बताए। मुख्यमन्त्रीले अझ भने, “हाम्रो सरकारले यस मागपूर्तिका लागि पूर्ण प्रयास गर्नेछ।”….

यी भनाइहरूबाट बुझ्न सकिन्छ नेपाली जाति र भाषाप्रति भण्डारीको लगाव कतिसम्म थियो। उनी आँट र साहसका प्रतीक पनि हुन्। आदिकवि भानुभक्तको जन्म नेपालीको तनहुँमा भए तापनि उनले नेपाली भाषालाई एकीकरणको दिशातिर डोहोर्‍याएका कारण उनको जन्म जयन्ती मनाउँदा कविको आधा सालिगमा माल्यार्पण गरिन्थ्यो तर 1981 सालमा विश्वमै पहिलो भानुको पूर्ण सालिग सिक्किममा निर्माण गर्न लगाएर नेपाली साहित्यका उज्जवल नक्षत्रद्वय डा. पारसमणि प्रधान एवं समालोचक तथा ब्यारिस्टर रामकृष्ण शर्मालाई साक्षी राखेर भानुको पूर्णाङ्ग सालिगमा माला पहिर्‍याउने व्यक्ति भण्डारी नै हुन्। केही समयअघि यो इतिहासलाई धमिल्याउने प्रयास भएको हो तर तर साहसको इतिहास त्यति सहजै मेटिनेवाला छैन भन्ने कुरा कसैलाई पनि समयले नै बुझाउँदै लैजानेछ।

नेपाली भाषालाई भारतमा संवैधानिक मान्यता दिलाउनका निम्ति सङ्ख्या गरिष्ठताको आवश्यकता पर्नजान्छ, यो कुरा सबैलाई थाहा भएकै कुरा हो तर यसका साथसाथै भारतका बुद्धिजीवीहरूद्वारा पनि मान्यता दिलाउन जरुरी छ भन्ने कुरा नरबहादुर भण्डारी तथा तिनताककी संसद सदस्य दिलकुमारी भण्डारीलाई थाहा थियो। यसको निम्ति भारतका संसद सदस्यहरूलाई कसरी मनाउने काम गरियो, नेपाली भाषाले संवैधानिक मान्यता पाउने ढोका खोलिएको समयमा गोर्खा भाषाको रट लगाउँदा के-कस्ता समस्याहरूको सामना गर्नुपर्‍यो अनि त्यसको समाधान कसरी गरियो के कस्ता राजनैतिक उतार-चढाउहरू देखा परे आदि आदि संस्मरणहरू सायद कुनै दिन स्वयं दिलकुमारी भण्डारीज्यूबाट आउने नै छ भन्ने कुरामा विश्वस्त बन्न सकिन्छ।

केही कुरा ‘अटल भण्डारी’-का सन्दर्भमा

आज 16 जुलाई, 2020। गत वर्ष 16 जुलाई, 2019-को दिन पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पुनीत पुण्यतिथिको अवसरमा मुख्य अतिथि राज्यपाल श्रीमान गङ्गा प्रसाद एवं विशिष्ट अतिथि सिक्किमका वर्तमान मुख्यमन्त्री श्रीमान पी. एस. तामाङ, राज्य विधानसभा अध्यक्ष श्रीमान एल.बी.दास, अटल भण्डारी स्मृतिग्रन्थकी प्रमुख संरक्षक, पूर्व संसद सदस्य श्रीमती दिलकुमारी भण्डारी तथा स्मृतिग्रन्थका सम्पादक अर्जुन पीयूषको बाहुलीबाट ‘अटल भण्डारी’ स्मृतिग्रन्थको विधिवत लोकार्पण गरिएको थियो।

उक्त अवसरमा स्मृतिग्रन्थभित्र रहेका भारतभरिका झण्डै 70 जना सर्जकलगायत राज्यका विशेष गन्यमान्य व्यक्तित्व एवं सम्पूर्ण मीडिया कर्मीहरूको विशेष उपस्थितिले कार्यक्रम गरिमामय बनेको थियो। सो अवसरमा मुख्यमन्त्रीले आफ्नो सम्भाषणमा भण्डारीले मार्गदर्शन गरेको मार्गलाई आत्मसात गर्दै आफू अघि बढिरहेको घोषणा गर्दै सम्पादकद्वारा राखिएको भण्डारीको मूर्ति स्थापना सम्बन्धमा सरकारले पहल गर्ने कुरा सार्वजनिक गरेका थिए। यसबाहेक अन्य कुराहरू पनि उनले सार्वजनिक गरेका थिए। घोषणा गरिएका केही कुराहरू पूरा भएका छन् भने मूर्ति स्थापना सम्बन्धमा पनि सरकारी पहल हुँदैहोला भन्ने आशा राख्न सकिन्छ।

अटल भण्डारी स्मृतिग्नन्थ विमोचन समारोहलाई सफल बनाउनमा स्मृतिग्रन्थकी प्रमुख व्यवस्थापक प्रिमुला भण्डारी, निर्देष्टा राजेन्द्र प्रधानलगायत विमोचन समारोहका अध्यक्ष दिलकुमारी भण्डारी, महासचिव चुनिलाल घिमिरे, कार्यक्रम सञ्चालिका अनिता निरौला लगायत सम्पूर्ण कार्यकारिणीवर्ग तथा सञ्चार माध्यमका सम्पूर्ण सदस्यहरूको अथक परिश्रमका कारण एक ऐतिहासिक कार्यक्रम बन्न सफल भएको थियो। 

विमोचन समारोहमा देखा परेको उपस्थितिले के सङ्केत गरिरहेको थियो भने नरबहादुर भण्डारी केवल आश्वासन, घोषणाहरूमा बाँचेका थिएनन्, कुनै जातिविशेषका रूपमा मात्र उनी चर्चित भएका थिएनन्। उनको काम गर्ने सङ्कल्प, प्रतिबद्धता, दायित्वबोधका कारण उनी सबै जातिका प्रिय थिए अनि रहिरहनेछन्। अहिलेसम्मको सिक्किमेली इतिहास पल्टाएर हेर्दा निर्वाचित मुख्यमन्त्रीका रूपमा भण्डारीको जुन ओज थियो आज पनि त्यसमा कुनै कमी आएको रहेनछ भन्ने कुरा कार्यक्रमको सफलताले बुझाइरहेको थियो। सत्तामा रहँदा कुनै पनि मुख्यमन्त्रीको जय जयकार गर्नु र सत्ता बाहिर रहँदा पनि त्यही जय जयकार र सम्मान हुनु अलग अलग कुरा हुन्, जुन धन भण्डारीले कमाएका छन्।

‘मैले काम गरेको छ भने मेरो चिहानमा आएर धेरैले आँसु खसाल्नेछन् काम गरेको छैन भने म त्यसै हराएर जानेछु, मलाई मलामी कमाउनुछ’ भन्ने भण्डारीले आफ्नो समयभरि सिक्किम राज्यको निम्ति, सिक्किमका सम्पूर्ण वासिन्दाका निम्ति अनि नेपाली भाषाका निम्ति जे-जति कार्य गरेका छन्, त्यसको मूल्याङ्कन अझै भए झैँ लाग्दैन। उनको शासनकालमा उनको प्रतिबद्धतास्वरूप जति शिक्षार्थीहरू आज सम्मानीय बनेका छन्, उनीहरूबाट उनका सम्झनामा एकै शब्द पनि नआउनु, उनको कार्यको कुनै उल्लेख नै नहुनु भनेको के उनीहरू केवल आत्मकेन्द्रित भएका हुन्? भन्ने प्रश्न उब्जिन्छ। 

अटल भण्डारीसँग संलग्न जमातले जे जति गर्‍यो त्यो यथेष्ठ भएन भन्नेहरूको लर्को लामो छ (भएको छैन पनि होला) तर भन्नेहरूले आजसम्म के गरे वा गर्नेवाला छन्? यस्ता प्रश्नहरू उब्जिँदैनन् र! अटल भण्डारी पुस्तक सम्पूर्ण होइन। भण्डारीले आफ्नो कालमा गरेका कर्महरू, उनले लिएका निर्णयहरू, उनको समयमा उब्जेका अन्तर्द्वन्द्वहरूको अध्ययन गर्न आवश्यक थियो कि थिएन?

यस सन्दर्भमा सामाजिक सङ्गठनहरूको कुनै दायित्व थिएन त! आज शिक्षालाई महत्वका साथ जिम्मेवारीबोध गर्दै आगामी दिनहरूमा यस सम्बन्धमा उचित कार्य गर्ने बताइँदैछ तर भण्डारीले आफ्नो समयमा नै शिक्षाबारे ज जति निर्णयहरू लिएका थिए, घड़ेरी त्यही नै हो। केवल त्यो घड़ेरीको संरक्षण हुननसकेको मात्र हो। विगतका दिनहरूमा ज-जसले सरकार चलाए पनि यदि पूर्वाग्रह नराखी कार्य निष्पादन गरिन्थ्यो भने आज सिक्किमको शिक्षाको स्तर अझ माथि उठिसकेको हुन्थ्यो। तर ‘ढिलै आए दुरूस्तै आए’ भन्ने भनाइलाई शिरोधार्य गरौं। 

अन्त्यमा सिक्किम निर्माणका अभियन्ता तथा नेपाली भाषा आन्दोलनको बागडोर आफ्नो हातमा लिएर भाषा र जातिलाई संवैधानिक स्तरसम्म पुर्‍याउने सिक्किमका प्रिय पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीज्यूप्रति उनको तेस्रो पुण्यतिथिको अवसरमा हार्दिक पुष्पाञ्जली अर्पण गर्दछु।

अर्जुन पीयूष

The author is Arjun Piyush, a senior journalist based in Sikkim and Editor at Naari Aabha and Atal Bhandari magazine. He can be contacted at piyus.arjun8@gmail.com

Views/Opinions expressed in the article or write up is purely of the author/writer and not of The Sikkim Chronicle. For any queries or contradictions, the author can be contacted in his/her email id.