” चोखो माया” को जातवादी- लैङ्गिक राजनीति: OPED

By Avinash Rai. The author can be contacted at chyangba0ntheroll@gmail.com

हामी सबैलाई थाहा भएकै कुरा हो नेपाली “पप कल्चर” मा “चोखो माया” को वर्णन धेरै पाइन्छ। तैपनि उदहारणको रूपमा म पाठकलाई नारायण गोपालले गाउनु भएको “यति चोखो, यति मिठो दिउँला तिमीलाई माया” भन्ने गीतको स्मरण गराउन चाहन्छु। यसो सुन्दा, यस गीतले “साँचो पिरती” गर्ने वचन दिन बाहेक बेसी केही भनेको बोध हुँदैन। तर यदि हामी यसमा अलिक बेर घोरियौं भने एकदुई कुरा स्पष्ट हुनेछ।
प्रथम त चोखोपन हाम्रो समाजमा कुन ऐतिहासिक कारणहरुले यसरी मूल्यवान बन्न पुगेको छ त्यसमाथि विचार गर्न आवश्यक छ। यसो गर्दा हामी स्वीकार्न बाध्य हुन्छौं कि चोखोपनको ऐतिहासिक उत्पत्ति अनि प्रचलन बाहुनवादी समाजको सृष्टी हो। जात व्यवस्थाको एउटा मूल धुरी खम्बा नै चोखोपनको विचारधारा हो। यस्तो विचार बोकेको समाजमा जुठो न खाने, आफ्नो जात बाहिर विवाह न गर्ने, अनि “ठूलो सानो” जातमा विभाजित मानिस बीच मेल मिलाप न हुने दस्तूरहरु पाइन्छ। यदि चोखोपनको विचारधारा बलियो न भए मानिसहरूको निम्ती यी सब कुप्रथाहरुको कुनै मूल्य नै रहदैन।
दोस्रो कुरा, जात व्यवस्थामा नारीहरु पुरुषको निम्ति बनिएको वस्तु भन्दा बडी केही हुँदैन। त्यसो हुदाँ पुरुषले स्त्रीलाई दिएको पिरतीको वचनहरु, कतै न कतै खोक्रो देखिन्छ, कसैलाई फकाउन भन्निने कुरा जस्तो मात्र प्रतीत हुन्छ। किन कि उसले जति नै माया गरे तापनि उसले आफ्नो मायाको निम्ति, उसको साथीलाई बाँधेर, होच्याएर, उत्पीडन गरेर राख्ने जातवादी पितृसत्ता विरुद्ध उ कहिले उभिदैन, कहिले त्यसको साँचो विरोध गर्दैन। झन उसले आफ्नो प्रेमिकाको दमनमा नै आफ्नो स्वाधीनता अनि अहंकार महसुस गर्ने गर्दछ।
यसको एउटा सानो झलक नारायणको गीतको अन्तिम पंक्तिमा पनि फेला पर्छ। उसको “चोखो माया” को साटोमा प्रेमिकाले दिन पर्ने कुराहरु यस्तो छन् – “आँखा भित्र बस्नु तिमी, छातीमा निदाउनु, सपनीमा पनि मलाई सुस्तरी चिहाउनु”। मायाको बद्ली माया हैन, प्रेमिकाले उसको दिलो ज्यान नै चढाउनु पर्ने निर्देश छ। पुरुषको दृष्टि बाट एकछिन पनि न हराउनु पाउने, सधैं छातीको छेउ यानी पुरुषको नजिक वा अगाडी पछाडी हुनु पर्ने, अनि यति मात्र हैन निन्द्रामा पनि, उसको सोच र सपनामा पनि, सधैं पुरुषकै विचारमा मग्न रहनु पर्ने अवस्था देखिन्छ। हन यो कसको निम्ति “मिठो माया” हो त?
माया त दुई मानिस बीच हुने व्यक्तिगत सम्बन्ध हो। यसमा समानता न भए के यसलाई माया भन्न सुहाउँछ र? थप, माया त ती दुई मानिस बीचमा कुनै बेला पनि हुन सक्छ – जीवनको प्रथम होस वा अन्तिम प्रहरमा। त्यसो हो भने माया “चोखो” हुनको के अर्थ हुन सक्छ? यसो सोच्दा “चोखो माया” को धेरै अर्थ निस्किन जान्छ। तर सर्वप्रथम चै यसले नारीको कन्या अवस्थाको माग गर्दछ। दोस्रो चै यसले नारीलाई एक भन्दा बेसी पुरुष सँग मेल मिलाप, प्रेम, कुनै निजी सम्बन्ध, अथवा साथी बन्न देखि प्रतिबन्द गर्दछ। अनि तेस्रो, यसले जात व्यवस्थाको सुरक्षा अथवा पालन गर्ने निर्देश पनि दोहोराइ रहेको पाइन्छ।
फेरि सोच्नु हुन्छं होला अघि दिएको गीतमा त पुरुषले “चोखो माया” गर्ने वचन गरी रहेको छ। त्यसमा के नराम्रो छ त? अप्ठ्यारो कुरा यही हो कि त्यस गीतले ज्ञात – अज्ञातमा चोखोपनको माध्यम बाट फेरि पनि माया जस्तो स्वाधीन धारणा र प्रयासलाई जात व्यवस्था अनि पितृसत्ताको मूल विचारधारा सँग गाभ्दछ। यसो गर्दा “चोखो माया” “ट्रू लव” हैन “प्युर लव” हुन जान्छ। दुइटामा धेरै फरक छ। ट्रू लवले समाजको कुप्रथा र बन्धेजहरुलाई तोडेर दुई व्यक्तिको प्रेमको धरातललाई लोकतान्त्रिक ढंगले बलियो बनाउने काम गर्दछ। तर प्युर लव यानी “चोखो माया” ले समाजको रुढिवादी चलनहरु कै जय जयलाई टेवा दिने काम गर्दछ।

Exit mobile version