सिक्किममा रहेका नेपाली नागरिकहरूले घर फर्कन पाएका छन्। गत 5 जूनका दिन भारत सरकारको विदेश मन्त्रालयले यसको निम्ति अनुमति दिएपछि यो सम्भव भएको पूर्व जिल्लाका एडीसीले बताए। लकडाउन शुरु भएपछि उनीहरुले धेरै दिनदेखि नेपाल फर्कने प्रयास गरेपनि प्रशासनिक कारणहरुले त्यसो हुन सम्भव भएको थिएन। सिक्किम सरकारले अगावै अनुमति दिनसाथै रम्फूसम्म पुर्याउन सहयोग समेत गर्न राजी भएको कुरा एक यात्रीले बताए। पश्चिम बंगालको बाटो हुँदै नेपाल पस्नुपर्ने अनि त्यसको निम्ति बंगाल सरकारबाट पास निकाल्नु पर्ने नियम रहेकोले आफूहरुलाई पास निमिलेको कारण जान सम्भव नभएको तिनले बताए।

पहिलो चरणमा 235 जनालाई पास जारी गरिएपछि सिक्किम सरकारको पहलमा 6 जूनको दिन सातवटा एसएनटी बसहरुमा पश्चिम बंगालको पानीट्याङ्कीसम्म पुर्याइने व्यवस्था गरिएको हो। त्यसपश्चात नेपाल सरकारले उनीहरुको यात्राको निम्ति बसहरुको प्रबन्ध मिलाएको बताइएको छ। पूर्व जिल्लाका एडीसी आफै एसएनटी परिसरमा रही यस पहलको निग्रानी गरेका थिए। नेपाल फर्कने पासको निम्ति आवेदन आउने क्रम जारी रहेको अनि उनीहरु सबैलाई पनि पास जारी गरी नेपाल पठाइने निर्णय गरिएको तिनले जनाए।

घर फर्किने क्रममा सबैनै उत्साहित देखिन्थे। यतिका दिन रोगबाट सुरक्षित राख्नमा सिक्किम सरकारको तत्परतामा गरिएका विभिन्न पहलहरु साथै अहिले आएर जाने व्यवस्था मिलाइदिएवापत सरकारसमक्ष सबैले आभार प्रकट गरेका छन्। लकडाउन अवधिमा आफूहरु सिक्किममा रहँदा कुनै ठूलो समस्या भोग्न नपरेको अर्का एक यात्रीले बताए।

सिक्किममा धेरै नेपाली नागरिकहरु रोजगारको निम्ति आउने गर्छन्। यसका साथै विभिन्न व्यवसायिक कारणहरु, उपचार, पर्यटन एवं भेट-घाटको निम्ति पनि सिक्किम-नेपाल आउने-जाने क्रम दीर्घदिनदेखि नै चल्दै आएको हो।

स्मरण रहोस्, नेपाली नागरिकहरुले पटक-पटक सिक्किम क्रोनिकललाई सम्पर्क गरी विभिन्न जानकारी जुटाउने साथै आफूहरुको कुरा सरकारसमक्ष राखिदिने अनुरोध गर्दै आएका थिए। उनीहरुको अनुरोधलाई सिक्किम क्रोनिकलमा विभिन्न समय प्रकाशित गरिएको थियो।

Leave a Reply