Gangtok, June 18:


सिक्किममा अहिलेसम्म जम्मा 5 जना कोभिड-19को संक्रमणबाट निको भइसकेका छन्। गत 13 जूनको दिन सिक्किममा पहिलो अनि दोस्रो कोभिड-19 पोजिटिभ पाइएका संक्रमितहरु निको भएपछि बड़ो हर्षोल्लासको साथ तिनीहरुलाई एसटीएनएम कोभिड अस्पतालबाट छुट्टी दिइएको थियो। यसअघि दक्षिण सिक्किमका दुई महिलाहरु संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। 17 जूनको दिन थप एकजनाको रिपोर्ट नेगेटिभ आएपछि तिनलाई पनि अस्पतालबाट छुट्टी दिएको जानकारी स्वास्थ्य सचिव डा. पेम्पाले गराएका हुन्।


सिक्किममा यो समाचार लेखुन्जेलसम्म संक्रमितको कुल संख्या 70 पुगेको छ भने त्यसमा 5 जना निको भएपछि अहिले सक्रिय संक्रमितको संख्या 65 रहेको छ। संक्रमित 65 जनामा सरकारद्वारा 51 जनालाई एसटीएनएमको कोभिड वार्डमा अनि 14 जनालाई जिल्ला अस्पताल गेजिङको क्योङसा कोभिड वार्डमा राखी उपचार गर्ने क्रम जारी रहेको छ। राज्यका कुल संक्रमितहरुमध्ये पूर्व जिल्लाका 20 जना, पश्चिम जिल्लाका 21 जना, दक्षिण जिल्लाका 29 जना रहेका छन्। अहिलेसम्म उत्तर जिल्लाको कुनै पनि व्यक्तिमा संक्रमण पाइएको छैन।


सिक्किममा अहिले रहेका सक्रिय कोभिड पोजिटिभहरु कसैमा पनि संक्रमणको लक्षणहरु भने नदेखिएको डा. पेम्पाले बताएका छन्। यसका साथै सबै पोजिटिभ पाइएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ्ग’ खूबै विस्तारका साथ गरी सबैको अनिवार्य रुपमा जाँच गरिएको तिनले जानकारी गराएका हुन्। विश्व स्वास्थ्य संगठनले लक्षण नभएका कोभिड संक्रमितहरुबाट संक्रमण फैलने सम्भावना कम रहेको भने पनि सबै सावधानी अप्नाउँदै आफूलाई अनि आफ्नाहरुलाई सुरक्षित राख्नुनै उचित देखिएको छ।

Leave a Reply