कोभिड संक्रमणको बृद्धिबीच राज्य टास्क फोर्सको उच्चस्तरीय सभा

रंगेली सब्डिभिजन लगायतका क्षेत्रमा हाल देखा परेको संक्रमणलाई विशेष ध्यानमा राख्दै कोभिड-19 राज्य टास्क फोर्सको एउटा महत्वपूर्ण सभा आज राजधानी गान्तोकमा सम्पन्न भयो। यस सभाको अध्यक्षता राज्यका मुख्य मन्त्री पी.एस. तामाङ (गोले)ले गरेका थिए।
सभामा मन्त्रीगण कुंगा निमा लेप्चा, डा. एम.के. शर्मा अनि एम.एन शेर्पाले यस सम्बन्धमा आ-आफ्नो सुझाउ राखेका थिए। यसका साथै सभामा उपस्थित विभिन्न विभागका विशिष्ट अधिकारीगणद्वारा पनि विभिन्न सुझाउहरु सरकारसमक्ष पेश गरियो।
रंगेली अनि पाक्योङ सब्डिभिजनका केही क्षेत्रमा समुदायमा देखा परेको संक्रमण अनि यसको रोकथामको निम्ति यथाशीघ्र चालिनुपर्ने कदमहरुबारे सभामा व्यापक छलफल गरियो। मुख्य सचिव एस. सी. गुप्ताले सम्पूर्ण सबै सुझाउहरुलाई संक्षेपमा पेश गर्दै आफ्नो विचार राखे।

सम्पूर्ण सुझाउ घैर्यतासाथ सुनेपश्चात मुख्यमन्त्रीले सेना, अर्धसैनिक बल अनि ग्रेफका सम्पूर्ण क्वारेन्टाइनहरुलाई राज्य प्रशासनले कड़ा निरिक्षण अनि अनुगमन गर्ने निर्देशन दिए। आफ्नो पक्ष राख्दै मुख्यमन्त्रीले रंगेली अनि पाक्योङका क्वारेन्टाइनहरुलाई यथाशीघ्र उन्नयन गरिनुपर्ने साथै मामला बढ़ेर गएको खण्डमा रोकथामको निम्ति होम क्वारेन्टाइनलाई पनि कड़ा नियमका साथ एउटा विकल्पको रूपमा लिइन सकिने बताए। फार्मा कम्पनीहरूले पनि दिशा-निर्देशको पालना गरेका छन् कि छैनन् त्यसको कड़ा निग्रानी गरिनुपर्ने मुख्यमन्त्रीले बताए।
यसका साथै रंगेली अनि पाक्योङ सब्डिभिजनमा 15 जुलाई उसो पूर्ण लकडाउनको पालना गरिनु पर्ने मुख्यमन्त्रीले आव्हान गरे। यसका साथै अन्तर्जिल्ला वाहनहरुमा रोक, मन्त्री तथा विधायकका सरकारी आवासहरुमा आउ-जाउ जस्ता कुराहरुमा पनि यथाशीघ्र रोक लगाउन तिनले सभामा आवहान गरे।
सम्पूर्ण दिशा-निर्देशलाई पूर्ण रुपमा पालन गरिएको सुनिश्चित गर्न प्रशासनलाई तिनले निर्देशन दिए। निजी कम्पनीहरुका कर्मचारीहरुको राज्यमा प्रवेशलाई आगामी 15 दिनको निम्ति रोक लगाउन पर्ने तिनले आव्हान गरे। केन्द्र सरकारका कर्मचारीहरुलाई भने स्क्रीनिंग अनि जाँच पश्चात राज्य प्रवेश दिइन पर्ने बताइयो।
मुख्यमन्त्रीले एसपीको निग्रानीमा फरेस्ट गार्ड अनि स्थानीय विलेज गार्डलाई तैनाथ राखेर पुलिस बलको बृद्धि गर्ने पुझाउ पनि पेश गरे। तीन दिन पश्चात समिक्षा गर्न अर्को सभा राखिने निर्णयका साथ सभा समाप्त भएको थियो।