उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता

स्वतन्त्रता अनि स्वाधिनता दुवै एकै हुन् भन्दै हामी आएका छौं। हो पनि, अधिकांश परिप्रेक्ष्य अनि सन्दर्भमा यी पयार्यवाची शब्दका रुपमा प्रयोग गर्दा सही नै ठहर्दछ। तर यी दुईमा एउटा सुक्ष्म फरक महसुस हुन्छ। व्यक्तिगत रुपले हेर्नु हो भने स्वाधिन हुनु भनेको आफू सम्बन्धित विषयहरु केवल आफ्नै अधिनमा मात्र रहनु हो वा भनौं आफूमाथि कसैको प्रभुता […] The post उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता appeared first on The Sikkim Chronicle - Sikkim News.

उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता

स्वतन्त्रता अनि स्वाधिनता दुवै एकै हुन् भन्दै हामी आएका छौं। हो पनि, अधिकांश परिप्रेक्ष्य अनि सन्दर्भमा यी पयार्यवाची शब्दका रुपमा प्रयोग गर्दा सही नै ठहर्दछ। तर यी दुईमा एउटा सुक्ष्म फरक महसुस हुन्छ।

व्यक्तिगत रुपले हेर्नु हो भने स्वाधिन हुनु भनेको आफू सम्बन्धित विषयहरु केवल आफ्नै अधिनमा मात्र रहनु हो वा भनौं आफूमाथि कसैको प्रभुता नरहनु हो। अब ‘स्वतन्त्रता पनि त त्यही हो’ भन्दा प्रायजसो सहीनै ठहरिन्छ। तर यसको सूक्ष्म विषयलाई हेर्ने हो भने यदि स्वाधिनतालाई कुनै रोक-टोक बिना वा भनौं कुनै बाह्य शक्ति बिना उपयोग गर्न पाउनु चैं स्वतन्त्रता हो। त्यो बाह्य शक्तिको प्रभुता त आफूमा नहोला तर त्यसको प्रभावले पनि स्वाधिनताको सम्पूर्ण अनुभूति गर्न मान्छेले पाइरहेको हँदैन।

उदाहरणको निम्ति हामी आजभोलीको जल्दो-बल्दो विषय सामाजिक सञ्जाललाई लिन सक्छौं। तीमध्ये जनसाधारणले बढ़ी प्रयोग गर्ने फेसबुकलाई लिऔं। फेसबुकमा खाता कहिले खोल्ने- कहिले बन्द गर्ने, दैनिक कतिबेला खोल्ने- कतिबेला बन्द गर्ने, के हेर्ने- के नहेर्ने कुन समूहमा रहने, कसलाई फ्रेन्ड लिस्टमा राख्ने- कसलाई ब्लक गर्ने ईत्यादिका क्रियाकलापहरुलाई स्वाधिनताको संज्ञा दिन सकिन्छ कारण यो एक व्यक्तिको निजी चयनमाथि निर्भर गर्दछ। यद्यपि फेसबुक खाताधारीले सही कुरा लेख्दा अथवा बोल्दा या भनौ अभिव्यक्त गर्दा कतिसम्म मुखर हुन सक्छ, त्यो विभिन्न वाह्य शक्तिहरुमाथि निर्भर गर्दछ। ती शक्तिहरुको प्रभुता व्यक्तिविशेषमा नरहे पनि केही सामग्री राख्दा अवश्यनै ती कुराहरुको ध्यान राख्न बाध्य हुन पर्छ। त्यसो भए यो सन्दर्भमा व्यक्तिमा फेसबुक चलाउने स्वाधिनता त छ तर स्वतन्त्रता छैन।

यहाँ एउटा कुरा के स्पष्ट गर्न आवश्यक छ भने यो लेखमा नागरिकको नैतिक जिम्मावारीलाई वाह्य शक्तिको रूपमा बयान गर्न खोजिएको होईन। मानिसले आफ्नो स्वतन्त्रताको उपभोग अवश्यनै नैतिकताको सिमानाभित्र रहेर गर्न पर्छ तर विभिन्न शक्तिहरुले आफै तोकेको सामाजिक व्यवस्थामा रहन बाध्य हुनु चैं स्वतन्त्रता होईन। नैतिकतामा रहेर मान्छेले समाजको भलाई हुने अनि भन्न अत्यावाश्यक भएको विषयलाई बिना हिचकिचाहट उचित समयमा अनि सही शब्दमा खुलेर पाउनु पर्छ, तब मात्र त्यो व्यक्तिले स्वतन्त्र भएर सामाजिक सञ्जाल चलाउन पायो भन्न मिल्छ।

यसै आशयलाई ध्यानमा राख्दै भारतको उच्च न्यायलयले केही समय अघि संविधानको सूचना प्रौद्योगिकी अधिनियमको धारा 66 ए-लाई असंवैधानिक घोषणा गर्दै त्यसलाई निरस्त गरेको थियो। सो धाराको आधारमा सामाजिक सञ्जालमा विभिन्न कथित आपतिजनक सामग्रीहरु राखेको पाइएमा पुलिसद्वारा गिरफ्तार गर्न सकिने अनि 3 सालसम्मको जेलको सजाय हुन सक्ने प्रावधान रहेको थियो। सो धाराले संविधानकै अनुच्छेद 19 (1)मा प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको हनन गर्दछ भनिएको थियो। यसका साथै सो धाराले नागरिकको जानकारीको अधिकारको हनन हुन्छ समेत भनिएको थियो।

प्रस्तुत उदाहरणबाट स्वाधिनता अनि स्वतन्त्रतामाथि केही प्रकाश अवश्यनै पार्यो भन्ने आशा गरिन्छ। हामीलाई स्वतन्त्र महसुस भएन भनेर देशका कतिपय क्षेत्रहरूमा विभिन्न व्यक्ति, संघ-संस्थान, शक्तिहरुद्वारा समय-समयमा आवाज उठिरहेको हामीले देख्दै आएका छौं। यी सबैले स्वाधिनता त छ तर स्वतन्त्रता छैन भन्दै पटक-पटक नारा लगाएका हुन्। उनीहरुको दावीलाई ध्यानपूर्वक सुन्ने हो भने त्यहाँ पनि हामीले यी दुई कुराको भिन्नतालाई बुझ्न सक्छौं। सामाजिक अभियांता अन्ना हजारेले पनि सो विषयलाई आफ्ना आन्दोलनहरुमा उठान गरेको हामीले देखेका छौं। आम-आदमी पार्टीको उदयको समयमा समेत यो कुराको चर्चा नचलेको होईन।

अब यसैसँग सम्बन्धित एउटा अर्को विषयलाई हेरौं। हामी Independence Day भनेर गर्वका साथ मनाउने गर्छौं। यो भारतले स्वाधिनता पाएको दिन हो। देश अंग्रेज शासनबाट स्वतन्त्र भएको दिन हो। यससँगै हामीले Independence शब्दको अर्को अर्थ लगाउने हो भने स्वनिर्भरताको कुरा अघि आउछ। स्वनिर्भरताले स्वतन्त्रतालाई झन् बलियो बनाउछ, स्वाधिनताको स्वाभिमानलाई झन् उच्च पार्दछ। यसैले भारतका प्रधान मन्त्री श्री नरेन्द्र मोदीले वैश्विक महामारी शुरु भएको केही समयमा आत्मनिर्भरताको कुरालाई जोर-शोरका साथ उठान गरेका थिए। आफ्नो स्वतन्त्रता दिवसको सम्भाषणमा पनि प्रधानमन्त्री मोदीले यसलाई प्रीथमिकताको साथ प्रस्तुत गरे।

हामी पक्कै पनि स्वाधिन छौं तर व्यापारिक दृष्टिकोणले हेर्ने हो भने हामीले देशमै बनिन सक्ने विभिन्न सामग्रीहरुको निम्ति पनि अझै चीन जस्ता देशसँग भर पर्न पर्दछ। आयातित सामग्रीहरूको प्रभुत्वको कारण विभिन्न व्यापारिक संस्थानहरुले अनेकन् सन्दर्भमा आफ्नो कतिपय व्यापारिक स्वावलम्बनलाई विकास गर्न पाउँदैनन्। यसो हुँदै जाँदा प्रौद्योगिकी विकासमा धेरै असर पर्न जान्छ। सही समयमा प्रौद्योगिक विकास हुन नसके यसले व्यापारिक स्वतन्त्रतामा असर पार्दछ। अन्य मुलुकको भर पर्नु पर्ने स्थिति पैदा हुन सक्छ।

सरकारको स्वनिर्भरताको सोंचलाई सही रुपमा कार्यान्वन गर्दै लैजाने हो भने केही वर्षमै हामी हाल आयात भइरहेका विभिन्न सामग्रीहरुलाई आफ्नै देशमा उत्पादन गरी सोही दाममा उपलब्ध गराउन सक्षम बन्नेछौं। यसरी हामी यी कुराहरुमा स्वनिर्भर बनेपछि कतिपय सामग्रीहरुको निम्ति अर्काको भर पर्नबाट स्वतन्त्र हुनेछौं। यो स्वतन्त्रताले औद्योगिक स्वाधिनतालाई अझ बलियो बनाउनेछ।

 प्रस्तुत विषयबाट अर्को एउटा कुरा बुझ्न सकिन्छ। स्वाधिनता, स्वतन्त्रता अनि स्वनिर्भरता यी तीनमा सूक्ष्म भिन्नता छ। स्वाधिनतामा स्वतन्त्रता हुन आवश्यक छ अनि स्वनिर्भरताले यसलाई अझ बलियो बनाउँदछ। यी तीनैको सन्तुलन नै विकासको एउटा दह्रिलो मार्ग हो। चाहे व्यक्तिगत रुपमा होस् वा सामाजिक वा राष्ट्र वा चाहे जुनसुकै सन्दर्भमा होस्, यी तीन विषयमा सही सन्तुलन ल्याउन सके अथवा ल्याउन पाए व्यक्ति, समाज अनि राष्ट्र दह्रिलो अनि उन्नत बन्न प्रशस्त्र मार्ग तयार हुनेछ।

Disclaimer: Views/Opinions expressed in the article or write up is purely of the author or writer and not of the Sikkim Chronicle. For any queries or contradictions, the author can be contacted in his/her email id.

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष अवसरमा

गेजिङमा डायलाइसिस् युनिटको उद्घाटन

The post उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता appeared first on The Sikkim Chronicle - Sikkim News.