ईएनटी अप्रेशन अब नाम्ची अस्पतालमै

गान्तोक, 07 नोभेम्बर: नाम्ची जिल्ला अस्पतालमा कान-नाक-गला (ईएनटी) शल्यक्रिया (अप्रेशन) शुरु गरिएको छ। राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)ले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। ईएनटी अप्रेशन टोलीमा डा. छिरिङ शेर्पा, डा.मोहन अनि डा. रुबेन रहेका छन्। जिल्ला अस्पतालमै यस्तो सुविधा उपलब्ध गराइए पछि अब उसो दक्षिण तथा पश्चिम जिल्लाका नागरिकहरुलाई धेरै सहज हुने भनी मुख्यमन्त्रीले भनेका छन्।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा विगत 18 महिनामा आफ्नो सरकारले राज्यमा स्वास्थ्य सुविधा अझ राम्रो बनाउन सरकारले चालेका कदमहरुबारे बताएका छन्। एसटीएनएम अस्पतालमा हालै स्थापित तृतीयक क्यान्सर केयर सेन्टर साथै गेजिङ, नाम्ची अनि एसटीएनएम अस्पतालमा स्थापित डाइलाइलिस् सेन्टर बारे तिनले उल्लेख गरेका छन्। आर्थिक हिसाबले विपन्नहरुका निम्ति स्वास्थ्य बीमाको पनि सरकारले व्यव्स्था मिलाइदिएको तिनले आफ्नो पोस्टमार्फत जानकारी गराएका छन्।
राज्यको स्वास्थ्य सुविधालाई अझ उत्तम बनाउन सरकार प्रतिबद्ध रहेको अनि निकट भविष्यमा विभिन्न कार्यक्रमहरु शुरु गर्ने सरकारको लक्ष्य रहेको तिनले बताए। यो सम्पूर्ण जनताको माया, विश्वास अनि साथले मात्रै सम्भव भएको भन्दै तिनले जनतालाई धन्यवाद साथै बधाई दिएका छन्।