सिक्किममा कोरोनाको थप चारवटा मामला एकैचोटि अघि आएको छ। स्वास्थ्य सचिव पेम्पा टी. भुटियाले यस कुराको पुष्टि गरेका हुन्। दक्षिण सिक्किमको फेसीलिटी क्वारेन्टाइनमा रहेका दुई व्यक्तिको सेम्पल नर्थ बंगाल मेडिकल कलेजको ल्याबमा पठाइए पश्चात 14 दिनको क्वारेन्टाइन पूरा हुँदासम्म पनि जाँच रिपोर्ट आइपुगेको थिएन। उनीहरुमा कुनै लक्षण नदेखिएको आधारमानै घर जाने अनुमति दिइएको थियो।

आज उनीहरु कोभिड-19 पोजिटिभ पाइएको रिपोर्ट नर्थ बंगाल मेडिकल कलेजबाट आएपछि दुवैलाई एसटीएनएम अस्पतालको कोभिड वार्डमा सारिने व्यवस्था मिलाइएको हो। दुईमध्ये एक 29 वर्षीय महिला अनि अर्की 37 वर्षीय महिला हुन् भनी बताइएको छ। समाचार लेखुन्जेलसम्म यी दुवैलाई एसटीएनएमको कोभिड वार्डमा सारिने व्यवस्था भइरहेको थियो।

गत 4 जूनका दिन मुम्बईबाट आएर एसएनटी बसमा चढ़ेका कोरोना पोजिटिभ व्यक्तिका कन्ट्याक्टमा आएका अन्य एक 22 वर्षीय युवकमा ज्वरोको लक्षण देखिएको थियो। तिनको पनि जाँच रिपोर्ट आज पोजिटिभ पाइएको छ। तिनलाई एसटीएनएमको ट्राएजमा राखिएको थियो भने अब कोभिड वार्डमा सारिनेछ।

आज पाइएको चौथो पोजिटिभ केस पूर्व सिक्किमका एक 21 वर्षीय युवकको भनिएको छ। तिनको मामालाई सिक्किमको दोस्रो कोभिड-19 पोजिटिभ पाइएको थियो। तिनी आफ्नो मामासँग सोझै सम्पर्कमा आएवापत तिनको पनि कोरोना जाँच गरिएको थियो। तिनलाई पनि एसटीएनएम अस्पतालमा सारिएको भनिएको छ।

आज पोजिटिभ पाइएको चारजनामध्ये तीनजनामा लक्षण भने देखिएको छैन। सबैको कन्ट्याक्ट ट्रेसिङ भइसकेको अनि सम्पर्कमा आएका सबैको टेस्ट यथाशीघ्र गरिने डा. भुटियाले बताए। चारजनाको एकैचोटि रिपोर्ट सार्वजनिक भएवापत सिक्किममा कोभिड-19 संक्रमण मामला अब 7 पुगेको छ।

एसटीएनएमको ट्राएज फेसिलिटीमा अहिले 16 जनालाई राखिएको छ। 3 जनालाई पोजिटिभ पाइए वापत अगावै कोभिड वार्डमा रखिएको थियो भने अब थप 4 जनालाई त्यहाँ राखिनेछ। दिन-दिनै कोभिड-19को बढ़दो मामलालाई ध्यानमा राख्दै अब जनताले एकदमै सावधानी अप्नाउनु पर्ने अनि सकेसम्म सबैजना घरमानै बसिदिने सुझाउ डा. पेम्पाले राखेका छन्।

Leave a Reply