आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

गान्तोक, 17 जुलाई: पश्चिम सिक्किमको मेली आचिङ्ग सशस्त्र सिमा बल क्याम्पको क्वारेन्टाइन सेन्टरबाट 7 जना जवानहरु कोभिड-19 संक्रमित पाइएको जानकारी स्वास्थ्य सचिव डा. पेम्पा टी. भुटियाले गराएका हुन्। सबै संक्रमित जवानहरुलाई गेजिङको आयुष अस्पताल परिसरमा रहेको कोभिड आइसोलेसन कक्षमा सारिएको छ।

यससँगै आचिङ्गस्थित एसएसबी क्याम्पलाई पश्चिम सिक्किम प्रशासनद्वारा कन्टेन्मेन्ट् जोन घोषित गरिएको छ। यसका साथै क्याम्पको वरिपरि 10 मिटर रेडियसमा पर्ने  क्षेत्रलाई बफर जोन घोषणा गरिएको छ। 

कन्टेन्मेन्ट् जोन परिसरमा पश्चिम सिक्किम एसपीको निग्रानीमा कड़ा सुरक्षाको उपायहरु अप्नाइनेछ। क्वारेन्टाइनमा रहेका सम्पूर्णको स्वास्थ्यको जाँच गेजिङका प्रमुख चिकित्सा अधिकारीद्वारा निरन्तर रुपमा गरिने छ। क्वारेन्टाइनबाट छुट्टी दिन अघि सम्पूर्णको अनिवार्य कोभिड जाँच गरिनेछ।

कोभिड रोकथाममा खटिएका स्वास्थ्यकर्मीबाहेक क्वारेन्टाइनबाट कोही बाहिर आउन अथवा कसैलाई भित्र जान निषेधित छ। आपदा प्रबन्धनको निग्रानीमा क्वारेन्टाइन सेन्टरको लगातार सेनिटाइजेसन गरिनेछ।